विराटनगर । अस्थायी, करार र ज्यालादारी कर्मचारीहरुको स्थायित्वको सुनिश्चितता नभएसम्म आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्न नदिने नेपाल राष्ट्रिय कर्मचारी महासंघका नेताहरुले बताएका छन् । धनकुटाको नाम्जेमा शनिबार सम्पन्न महासंघको प्रथम प्रदेश सम्मेलनमा नेताहरुले लामो समयदेखि सेवामा आवद्ध भएका अस्थायी, करार र ज्यालादारी कर्मचारीहरुलाई एउटा प्रक्रिया मार्फत एक पटकका लागि स्थायी गर्नु पर्ने विषयलाई प्रमुख मागको रुपमा अगाडि सार्ने बताएका हुन् ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका केन्द्रीय अध्यक्ष हरिबहादुर रावलले २० औं वर्ष करार सेवामा काम गरेका कर्मचारीहरु खाली हात घरजानु पर्ने अवस्था रहेको बताए । त्यस्तो विभेदकारी व्यवस्था अन्त्य गर्न एउटा प्रक्रिया मार्फत स्थायी गर्ने र त्यसमा सफल नहुनेहरुलाई स्थायी कर्मचारीकै सरह सुविधा दिएर अवकास दिने व्यवस्था गरी समस्या समाधान गर्नुपर्ने बताए । ‘देशभर ४० हजार भन्दा बढी करार, अस्थायी र ज्यालादारी कर्मचारीहरुले लामो समयदेखि काम गरिरहेका छन्, अब आउने संघीय निजामती ऐनले नै त्यो समसया समाधान गर्नुपर्छ भनेर हामीले पहल गरिरहेका छौं,’ उनले भने ‘अब हुने आधिकारिक ट्रेड युनियनको निर्वाचनमा अस्थायी करार र ज्यालादारी कर्मचारीले पनि मतदान गर्न पाउनु पर्छ अन्यथा निर्वाचन हुन सक्दैन ।’
मुलुक संघीयतामा गएपनि प्रशासनिकरुपमा संघीयता नआएको भन्दै महासंघका नेताहरुले छिटोभन्दा छिटो प्रशासनिक संघीयता कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । त्यसक्रममा समायोजन ऐनका कारण प्रशासनिक पुनर्संरचनामा समस्या भएको भन्दै ऐन मार्फत त्यो गल्ती सच्याउनु पर्नेमा जोड दिइएको थियो ।
सम्मेलन उद्घाटन गर्दै खानेपानी, उर्जा तथा सिंचाइमन्त्री रामकुमार राईले कर्मचारीहरुले जनताको सेवालाई केन्द्रविन्दूमा राखेर काम गर्नुपर्ने बताए । जनतालाई दुःख दिएर होइन उनीहरुको काममा सहयोग गरेर सेवा गर्ने भावना विकास गर्न महासंघलाई आग्रह गरे । बढ्दो महंगीको तुलनामा कर्मचारीले पाउने पारिश्रमिक तथा सेवा र सुविधा न्यून भएको बारेमा सरकार जानकार रहेको भन्दै समयानुकुल सरकारले पारिश्रमिक वृद्धि गर्ने विश्वास दिलाउनुभयो । युद्ध, कोरोना लगायतका परिस्थितिले विश्वबजारमा भएको मूल्यवृद्धिको असर नेपालमा पनि परेको र अहिले असहज अवस्था आएको भन्दै सबै मिलेर त्यसको सामना गर्नुपर्ने उनको भनाइ थियो ।

सरकारी कर्मचारीमा असल चरित्र विकास हुनुपर्ने र त्यसमा पनि माओवादीमा आस्था राख्नेहरुमा त्यो चरित्र अझ बढी मुखरित हुनुपर्ने उनको भनाइ थियो ।
सम्मेलन उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले कर्मचारीहरुले जनतामा आशाको सञ्चार गराउनु पर्ने बताए । पेशागत हित र सेवा प्रवाहको विषयलाई केन्द्रमा राखेर विचार प्रवद्र्धन गर्ने काममा कर्मचारीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो । शक्तिमा हुँदा उत्साहित हुने र थोरै कमजोर भयो भन्दैमा निराश हुने प्रवृत्ति कर्मचारीहरुमा देखापर्ने गरेको भन्दै देशमा ठूलो परिवर्तन ल्याउन सफल भएको माओवादी केन्द्र कमजोर नभएकोले आफूले आफैंलाई विश्वास गर्न पनि आग्रह गरे । कार्यक्रममा राष्ट्रिय कर्मचारी महासंघका सह संयोजक मोहनमान स्वाँर, मणिरत्न श्रेष्ठ लगायतले कर्मचारीका विविध मुद्दाहरुको विषयमा बोलेका थिए ।
महासंघ प्रदेश १ को सम्मेलनले गिताचार्य आचार्य, माधव वास्तोला सचिव र मेनुका दाहाल कोषाध्यक्ष रहेको ५५ सदस्यीय प्रदेश कमिटी निर्वाचित गरेको छ । यस्तै सोही सम्मेलनबाट करार, अस्थायी तथा ज्यालादारी राष्ट्रिय कर्मचारी संगठन प्रदेश १ कमिटी पनि गठन गरेको छ । अस्थायी करार तथा ज्यालादारी कर्मचारीहरुलाई संगठित गरी उनीहरुको पेशागत हित र सुरक्षाका लागि संघर्ष गर्न सविना दाहाल संयोजक र सुरेश कार्की सचिव सहित ३१ सदस्यीय प्रदेश कमिटी गठन गरेको हो । उक्त कमिटीले प्रदेशका १४ वटै जिल्लामा जिल्ला कमिटी गठन गरी प्रदेशस्तरीय सम्मेलन आयोजना गर्ने जनाएको छ ।

