लोड हुँदैछ...

मेनु

प्रदेश १ संसदमा मन्त्री आङ्बो : राजनीतिक नियुक्ति लिएकाले नैतिकता देखाउनुपर्छ

प्रदेश १ संसदमा मन्त्री आङ्बो : राजनीतिक नियुक्ति लिएकाले नैतिकता देखाउनुपर्छ

विराटनगर । प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले अघिल्लो सरकारकै बजेटमा सरकार चलिरहेको बताउँदै आफैले निर्माण गरेको बजेटमा एमालेले विरोध गर्नुको अर्थ नभएको बताएका छन् ।

प्रदेशसभामा यसअघि मुख्य विपक्षी एमालेका सांसदहरुले सरकारले बजेटमा मनपरी कटौती गरेको, योजनाहरु काटेको भन्दै आलोचना गर्दै आएका थिए । बिहीबारको प्रदेशसभा बैठकमा सांसदले उठाएका सवालहरुको जवाफ दिँदै मन्त्री आङ्बोले शेरधन राई नेतृत्वको सरकारले २१ अर्ब हाराहारी बहुवर्षे आयोजनाको दायित्व हुँदा ७ अर्ब मात्रै बजेट विनियोजन गरेको जानकारी दिए ।

‘हिजो यही बजेट गडगडाहट तालीले पारित गर्ने त्यसबेलाको सत्तापक्ष (एमाले) अहिले विपक्षमा पुगेको छ, उहाँहरुले नै विरोध गर्नु अर्थपूर्ण हुँदैन,’ उनले भने ‘बरु त्यसबेला यो बजेटले आफ्नै प्रतिबद्धता भुलेको सम्झाउने त्यसबेलाको विपक्षी (अहिलेको सत्तापक्ष) सांसदले विरोध गर्नु स्वाभाविक देखिन्छ ।’ शेरधन राई सरकारले बजेट ल्याउँदा गरेको त्रुटी औंल्याउँदै मन्त्री आङ्बोले थपे ‘म सदनमा केही उदाहरण प्रस्तुत गर्न चाहन्छु । यहाँ मुसाफिर खान भन्ने मुसलमान समुदायको पवित्र धार्मिकस्थल बनाउने योजना छ, जसको कूल लागत ५ करोड छ । तर, अघिल्लो सरकारले त्यो योजनामा एक रुपैयाँ पनि बजेट छुट्याएन । आफू बजेट नछुट्याउने अनि त्यो काम किन भएन भन्ने ?’

त्यस्तै संसारीमाइ नामक आयोजनामा पनि सरकारले त्यस्तै गल्ती गरेको उनले बताए । ‘त्यो आयोजना ८–१० करोड लागतको हो । तर, सरकारले जम्मा एक डेढ करोड मात्रै छुट्याएको छ,’ उनले भने ‘त्यसबेला सरकारले प्राथमिकताका आधारमा होइन मसिना आयोजनामा, आफ्नो गुट बलियो बनाउने ध्येयबाट बजेट विनियोजन भएको छ ।’

शेरधन राई नेतृत्वको सरकारले स–साना चुनाव केन्द्रीत योजनाका लागि बजेट विनियोजन गरेको बताउँदै उनले वर्तमान सरकारले कुनै पनि योजना कटौती नगरेको जानकारी दिए । गठबन्धनको सरकार बनेपछि सरकारको प्राथमिकताको आधारमा बजेट माथि पुनरावलोकन गरिएको जानकारी दिँदै उनले नयाँ आयोजना पेश गर्ने भन्दा पनि अनुत्पादक क्षेत्रमा राखिएको बजेट र दीर्घकालीन दायित्व सिर्जना गर्ने बजेट कटौती गरिएको बताए ।

उनले ३२ अर्ब बजेटमध्ये १२ अर्ब ५८ करोड अर्थात् करिब ३९ प्रतिशत बजेट खर्च भइसकेको पनि जानकारी दिए । ‘९० प्रतिशत खर्च यो आर्थिक वर्षमा गर्ने लक्ष्य छ,’ उनले भने, ‘नयाँ आयोजना प्रविष्ट गर्ने पक्षमा सरकार छैन । कुनैपनि बहुवर्षे आयोजना रोकिएको छैन ।’

बजेट खर्चमा पनि प्रदेश एक अब्बल देखिएको दाबी गर्दै उनले यसैपालि सम्पन्न गर्न सकिने आयोजनाहरुलाई तिब्र गतिमा काम अघि बढाउन सम्बन्धित कार्यालयहरुलाई निर्देशन गरिएको र आयोजनालाई समयमै सम्पन्न गर्नकालागि पर्याप्त बजेट व्यवस्था गरिएको उनले बताए । ठेक्का लागिसकेका अन्य बहुवर्षे आयोजनाहरुलाई स्वीकृत बजेटको सिमाभित्र बसेर काम अघि बढाउन सरकारले कुनै रोकटोक नगरेकोसमेत उनले स्पष्ट पारे ।

मुख्य विपक्षी एमाले नेताहरुले प्रदेश सरकारले मन्त्रीपरिषदको आकार बढाएर खर्च बढाएको भन्दै निरन्तर आलोचना गर्दै आएको सन्दर्भमा जवाफ दिँदै मन्त्री आङ्बोले सरकार संविधानको दायरा बाहिर नगएको बताए । ‘प्रदेशका दुई जना पूर्व मुख्यमन्त्रीहरुसमेतले बनाएको संविधानले नै प्रदेशमा कूल प्रदेश सदस्य संख्याको २० प्रतिशत मन्त्री हुन पाउने व्यवस्था गरेको छ,’ उनले भने ‘आफैले बनाएको संविधानको प्रावधान विपरित उहाँहरु किन विरोध गर्दै हुनुहुन्छ आश्चर्य लागेको छ ।’ उनले मितव्ययितको विषय अघिल्लो सरकारले गरेका कतिपय निर्णयको फायल पल्टाउँदा स्पष्ट हुने दावी गरे ।

कामको आवश्यकताको आधारमा मन्त्रीपरिषद विस्तार भएको बताउँदै उनले यसअघिका राजनीतिक नियुक्ति बदर भएकोबारे विरोधको पनि अर्थ नभएको उल्लेख गरे । ‘राजनीतिक आस्थाका आधारमा भएका नियुक्तिहरु सरकार फेरिएपछि स्वतः फेरिन्छन्,’ उनले भने ‘यो सामान्य नैतिकताको विषय हो । यदि अहिलेको सरकारले नियुक्त गरेकाहरुलाई आउँदो सरकारले हटायो भने म र मसम्बद्ध दलले चाहिँ विरोध गर्नेछैन । सम्मानित सदनमा त्यो सानो विषय उठाउनु सुहाउँदो कुरा हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।