लोड हुँदैछ...

मेनु

मन्त्रीहरुलाई साईकल चढ्न कोइरालाको सुझाब

मन्त्रीहरुलाई साईकल चढ्न कोइरालाको सुझाब

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजिव कोइरालाले मितव्ययिता अपनाउनका लागि प्रदेशका मन्त्रीहरुले साइकल चढेर मन्त्रालय जानुपर्ने बताएका छन् ।

प्रदेशसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै नेता कोइरालाले सरकार मितव्ययी बन्नुपर्ने बताए ।

गठबन्धनको सरकार बनेपछि मन्त्री मण्डलको आकार ठूलो भएपनि संविधान विपरित भने नभएको उनको भनाइ थियो । ‘सरकार मितव्ययी र पारदर्शी ढंगले चल्नुपर्छ,’ उनले विभिन्न देशमा साइकलमा मन्त्री हिँडेको समाचार आफूले सुनेको बताउँदै भने, ‘हाम्रा मन्त्रीहरुले पनि साइकल चढेर मन्त्रालय जाँदा हुन्छ ।’

कोइरालाले प्रदेश १ को नामकरणका विषयमा साझा सहमति हुनुपर्नेमा जोड दिए । उनले मोही माग्ने ढुंग्रो लुकाउने भनेजस्तो एमालेको सहमतिबिना कुनैपनि अवस्थामा प्रदेशको नामकरण टुंगो लगाउन नसकिने पनि बताए । ‘प्रदेशको नामकरण टुंगो लगाउने विषय भनेको सहमति नभएसम्म हुँदैन, त्यसका लागि एमालेसँग छलफल गर्नुपर्यो,’ कोइरालाले भने, ‘सबैले सहमतिमा नाम टुंगो लगाउन सके भयो, होइन भने प्रदेश १ ठिकै छ त अहिले किन यताउता गर्नुपर्यो ?’

प्रदेशसभाको बैठकको शुन्य समयमा बोल्दै सांसद ज्योति सुब्बाले प्रदेशमा बालिका बलात्कारका घटना बढेकोतर्फ सरकारको ध्यान जान जरुरी रहेको बताइन् । सांसद विन्दिया कार्कीले अपराधीहरुलाई कडा सजाय दिन नसक्दा बलात्कारको घटना बढेको बताइन् । उनले कानून परिमार्जन गरेर बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने बताइन् ।

सांसद सुनिताकुमारी चौधरीले उदयपुर बेलका नगरपालिका ४ र ५ वडामा पर्ने सिसुवा खोलामा मापदण्ड विपरीत खोला उत्खनन भइरहेको बताइन् । ‘तटबन्ध निर्माण गर्ने बहानामा अनियमित तरिकाले ढुंगा गिट्टी उत्खनन् भइरहेको छ,’ उनले भनिन्, ‘यस विषयमा तुरुन्त छानविन गरियोस् ।’

बैठकमा अर्थसमितिका सभापति मोहनकुमार खड्काले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथिको समितिको प्रतिवेदन पेश गरेका थिए ।

यस्तै प्रदेश १ का यातायात व्यवस्था तथा संचारमन्त्री उपेन्द्र घिमिरेले सरकारको तर्फबाट प्रदेशको संचार माध्यम सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संसदमा प्रस्तुत गरेका छन् । त्यसक्रममा सम्बोधन गर्दै उनले महिला, अल्पसंख्यक तथा दलित पत्रकारहरुलाई सहुलियत दिने गरी कानून निर्माण हुन लागेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।