विराटनगर । प्रदेश १ सरकारले २०७९ सालमा संघीय सरकारले तोकेको भन्दा थप दिन दिन सार्वजनिक विदा दिने भएको छ ।
बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेश क्यालेण्डर स्वीकृत गर्दै थप विदाको निर्णय गरेको यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रस्तुत गरेको वि.सं.२०७९ सालमा प्रदेश सरकारले दिने सार्वजनिक बिदासम्बन्धी प्रस्ताव स्वीकृत गरेको गर्दा भदौ ४ गते राधाकृष्ण रथयात्रा, कात्तिक १४ गते छठ पर्व र कात्तिक २५ गते फाल्गुनन्द दिवसमा प्रदेशभरि विदा दिइने भएको छ । संघीय सरकारले तोकेको बाहेक प्रदेश सरकारलाई थप ६ वटा बिदा दिन पाउने अधिकार छ ।
मन्त्रिपरिषद बैठकले आर्थिक सहयोग उपलब्ध गराउने सम्बन्धी प्रस्ताव पनि स्वीकृत गरेको छ । गम्भीर रोग लागेका बिरामीलाई उपचार खर्च दिनेगरि प्रस्ताव स्वीकृत भएको हो ।
बैठकले अन्तर्राष्ट्रिय विकास सहायता परिचालन तथा समन्वय सम्बन्धी कार्यविधि २०७८ स्वीकृत गरी राजपत्रमा प्रकाशन गर्ने तथा वित्तीय समानीकरण अनुदान र राजश्व बाँडफाँटको बजेट सीमा निर्धारण गर्ने निर्णय पनि गरेको छ । बैठकले कृषि मन्त्रालयले प्रस्तुत गरेको ‘प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान (पहिलो संशोधन नियमावली, २०७८) पनि स्वीकृत गरेको मन्त्री घिमिरेले जानकारी दिए ।
पदमार्गमा आधारित पर्यटन विकास परियोजना प्रतिवेदन पनि बैठकले स्वीकृत गरेको छ । यस्तै प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयक, २०७८ प्रदेशसभामा पेश गर्न पनि मन्त्रिपरिषदले स्वीकृति दिएको छ ।

