विराटनगर। नेपाली कांग्रेसका बरिष्ठ नेता डाक्टर शेखर कोइरालाले गठबन्धन नगर्दा २०७४ कै जस्तो खराब चुनावी परिणाम आउन सक्ने चिन्ता रहेको बताएका छन् ।
विराटनगरस्थित कोइराला निवासमा नेपाली कांग्रेसको चुनाव लक्षित गीत सार्वजनिक गर्दै कोइरालाले यस्तो बताएका हुन् । उनले गठबन्धन गर्नु हुँदैन भन्ने विषयमा तल्लो तहका कार्यकर्ताले भेटका क्रममा वा फोन गरेर भनेको बताउँदै तर, ०७४ सालको चुनावको परिणामलाई पनि ध्यान दिनुपर्ने बताए ।
‘देशका विभिन्न जिल्लाका साथीहरुसँग फोनमा, भेटघाटका क्रममा कुराकानी हुन्छ । उहाँहरुको कुरा गठबन्धन गरेर जान हुँदैन भन्ने कुरा छ । गठबन्धनले नेपाली कांग्रेसलाई फाइदा गर्दैन भन्ने कुरा छ,’ कोइरालाले भने, ‘तर, हामीले एउटा कुरामा ध्यान दिनुपर्ने आवश्यकता छ । त्यो भनेको ०७४ सालको निर्वाचनमा एमाले र माओवादी जसरी मिले त्यसरी नै फेरि मिल्न सक्छन् कि भन्ने चिन्ता तपाईं हामीलाई छ ।’
कोइरालाले गठबन्धन के का लागि भन्ने विषय प्रष्ट हुनुपर्नेमा पनि जोड दिए । ‘गठबन्धन के का लागि ? अरु पार्टीलाई जिताउनका लागि गठबन्धन हो कि ? ती पार्टीहरुले कांग्रेसलाई पनि भोट हाल्नका लागि हो ? त्यो विषयमा नेताहरुले सोच्नु आवश्यक छ,’ उनले भने, ‘हामीले ९० प्रतिशत भोट अर्को पार्टीका कार्यकर्तालाई नेतालाई खसाल्ने अनि उहाँहरु जित्ने अनि हामीलाई चाहीं भोट नदिने हो भने त्यस्तो गठबन्धन हामीलाई चाहिँदैन ।’
नेता कोइरालाले गठबन्धन गर्दा कांग्रेस कमजोर हुनसक्ने पनि बताए । ‘कांग्रेसको आफ्नै सिद्धान्त छ । राष्ट्रियताको विषयमा छुट्टै छ, हामी उग्र राष्ट्रवादको कुरा गर्दैनौं, प्रजातान्त्रीक समाजवादको विषयमा छुट्टै सिद्धान्त छ, हाम्रो विचार भिन्दै छ, अनि हामी किन गठबन्धन गर्ने ?’, कोइरालाले भने, ‘स्थानीय तहमा त कुनै पनि हिसाबले केन्द्रले हस्तक्षेप गरेर गठबन्धन गर्नुहुँदैन भन्ने पक्षमा छु म । कतै स्थानीय स्तरमा त्यहाँका पार्टीहरुले आपसमा कुनै वडा दिएर मिल्दा जित्न सक्ने अवस्था बन्छ भने त्यो बेग्लै कुरा हो ।’
०७४ सालमा काँग्रेससँग गठबन्धन गरेर एमालेसँग माओवादीले मिलेको दृष्टान्त दिँदै उनले भने । ‘हामीले गठबन्धन ग¥यौं, महन्थ ठाकुर, उपेन्द्र यादवलाई सिट छोड्यौं, कमल थापालाई सिट छोड्यौं, विक्रम पाण्डेलाई सिट छोड्यौं, अशोक राईलाई सिट छोड्यौं । तर नेपाली कांग्रेसलाई कसैले सिट छोडेन,’ कोइरालाले भने, ‘कस्तो गठबन्धन हामीले गर्न खोजेको यो क्लियर नभइ कुनै पनि साँठगाँठमा हामी गयौं भने हामी ट्र्यापमा पर्छौं हामी फस्छौं जस्तो लाग्छ ।’
अरु पार्टीका नेतालाई जिताउने जिम्मेवारी कांग्रेसले लिनुपर्ने बताउँदै उनले गठबन्धन गरेर जाँदा काँग्रेस कमजोर हुने दलिल पेश गरे । ‘हाम्रो सिद्धान्त कमजोर हुन्छ । हाम्रो विचार कमजोर हुन्छ भन्ने कुरा भरतपुरले प्रमाणित गरेको छ, भरतपुरमा रेणु दाहाललाई जिताएको कारण त्यहाँ अहिलेसम्म कांग्रेस एकताबद्ध भएर अगाडि बढ्न सकेको अवस्था छैन,’ कोइरालाले भने ।
निर्वाचनमा कांग्रेस जित्नका लागि सबै एकढिक्का हुनुपर्ने उनको भनाइ थियो । उनले कांग्रेस एकढिक्का भए अरुसँग मिल्नै नपर्ने पनि बताए । ‘मैले त महाधिवेशनको तिक्तता त्यागी सकें, हामी एकताबद्ध भए हामीलाई कुनै पनि शक्तिले हराउन सक्दैन,’ कोइरालाले भने । कोइरालालो यस पटकको स्थानीय निर्वाचनमा ७५३ वटै पालिकामा चुनाव जित्ने अवस्था रहेको पनि बताए । कार्यक्रमका अवसरमा गुरु घिमिरेले रचना गरेको कांग्रेसको चुनावी गीत सार्वजनिक गरिएको थियो ।




























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।