विराटनगर । नेकपा माओवादी केन्द्रले चैत्र १५ गतेभित्रै चुनावी अभियानसहित टोलहरुमा पुगिसक्न मातहतका कमिटीहरुलाई परिपत्र जारी गरेको छ ।
माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङले १२ बुँदे निर्देशिका जारी गर्दै चैत १५ गतेभित्र सम्पूर्ण वडा कमिटीको बैठक सम्पन्न गरेर चुनावी अभियानसहित टोलटोलमा परिचालन हुन सर्कुलर जारी गरेका हुन् ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर संगठन सुदृढीकरण अभियान अघि बढाएको माओवादी केन्द्रले न्यूनतम ‘एक वडा एक टोल, एक टोल तीन सेल’ गठन गरी जनताको घरघरमा पार्टीको नीति र योजनाका बारेमा जानकारी गराउन निर्देशन दिएको छ । सहिद तथा वेपत्ता योद्धाहरुको परिवार, घाइते तथा जनयुद्ध तथा राजनीतिक आन्दोलनमा पीडित भएकाहरुसँग भेटघाट गरी राजनीतिक कुराकानी तथा अन्य समस्याहरुको बारेमा छलफल गर्न पनि माओवादीले तल्ला कमिटीहरुलाई निर्देशन दिएको छ ।
जनतासँगको सम्बन्ध सुमधुरर सुदृढ बनाउने काममा निरन्तर क्रियाशील रहन र चैत्र १५ गतेभित्रै पालिका तहमा निर्वाचन परिचालन समिति बनाइसक्नुपर्ने परिपत्रमा उल्लेख छ । वडास्तरीय निर्वाचन परिचालन समिति गठन गर्दा केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, कमाण्डका, सदस्य, जिल्लाका पदाधिकारीसमेतलाई उपस्थित गराउन भनिएको छ ।
माओवादीले निर्वाचनका समयमा विपक्षीबाट विभिन्न आरोपहरु लगाइने र भ्रमहरु सिर्जना गरिने भएकोले त्यसको सशक्त प्रतिवाद गर्न कार्यकर्ताहरुलाई टोल तहमै प्रशिक्षण दिने व्यवस्था मिलाउने भएको छ । युवा, महिला, शिक्षक, बुद्धिजीवि र जेष्ठ कम्युनिष्ट मञ्चका सदस्यहरुलाई पनि वडा र टोलहरुमा हुने अभियानमा अनिवार्य परिचालन गर्न परिपत्रमार्फत निर्देशन दिइएको छ ।
नेकपा माओवादी केन्द्रले प्रदेश १ का १४ जिल्लालाई विभाजन गरिएको ५ कमाण्डमा प्रदेश पदाधिकारीहरुको पनि कार्यविभाजन गरेको छ । जस अनुसार झापा, मोरङ र सुनसरी कमाण्डमा गणेश उप्रेती, कुमारी राई र गगन पुरी, भोजपुर र खोटाङ कमाण्डमा देवान चाम्लिङ्ग, सोलुखुम्बु, ओखलढुंगा र उदयपुर कमाण्डमा सागर किराँतीले र धनकुटा, तेह्रथुम र संखुवासभा कामाण्डमा ऋषिराम ढुंगाना परिचालन हुने भएका छन् ।
वैशाख ३० गते हुने निर्वाचनका लागि वैशाख ११ र १२ गते मनोनयन दर्ता गर्ने निर्वाचन आयोगको कार्यक्रम छ । माओवादी केन्द्रले चैत्र २५ गतेभित्र सम्बन्धित कमिटीबाट उम्मेदवार सिफारिस गरिसक्न भनेको छ ।
वडाअध्यक्ष र सदस्यहरुको नाम वडा कमिटीले र पालिका अध्यक्ष वा उपाध्यक्ष तथा प्रमुख उपप्रमुखको नाम पालिका कमिटीले सिफारिस गर्ने परिपत्रमा उल्लेख छ । पालिका अध्यक्ष उपाध्यक्ष तथा प्रमुख उपप्रमुखको नाम सम्बन्धित पालिका, जिल्ला समन्वय र कमाण्ड हुँदै प्रदेश कमिटीमा सिफारिस गर्नुपर्ने र प्रदेश कमिटीले नै अन्तिम निर्णय गर्ने माओवादी केन्द्रले जनाएको छ । माओवादीले उम्मेदवार छनौटमा समस्या देखिने सम्भावनाका आधारमा उम्मेदवार छनौट सहजीकरण उपसमिति गठन गर्ने भएको छ ।त्यसअघि प्रदेश १ का १३७ स्थानीय तहमा पालिकास्तरीय सभा आयोजना गरी चैत्र २४ गते जनआन्दोलन दिवस मनाउन पनि निर्देशन गरिएको छ ।
आगामी निर्वाचनमा जित हासिल गर्न सकिने सम्भावनालाई दृष्टिगत गरेर पालिकाहरुलाई चार श्रेणीमा विभाजन गरेर चुनाव प्रचार र अभियानहरुलाई तीब्रता दिने माओवादीको योजना छ । जित्ने सम्भावना बलियो भएका पालिकाहरुलाई ‘क’, मिहेनत गर्दा जित्न सकिनेलाई ‘ख’, केही वडाहरु जित्न सकिनेलाई ‘ग’ र वडाहरुसमेत जित्न नसकिने स्थानीय तहहरुलाई ‘घ’ श्रेणीमा राखेर शक्ति परिचालन गर्ने माओवादीको तयारी छ । त्यसका लागि चैत्र २० गतेसम्म प्रारम्भिक मत सर्वेक्षण गर्ने योजना छ ।
निर्वाचन प्रणाली महंगो र अति खर्चिलो हुँदै गएकोले जनसम्बन्ध बढाउन र पार्टीप्रतिको विश्वास वृद्धि गरी कम खर्चमा चुनाव सम्पन्न गर्न पनि निर्देशन दिइएको छ । वडा तहमा आर्थिक समिति गठन गरी कोष तयार पार्न तथा आन्तरिक स्रोतबाटै खर्चको प्रवन्ध गर्न र व्यवस्थित रुपमा खर्च गरी हिसाब चुस्त राख्न निर्देशन दिइएको छ । उपसमिति बनाएर घोषणा पत्र तयार पार्न, एक वडा एक जनसभा, एक जनसभा एक वक्ताको व्यवस्था मिलाउन पनि भनिएको छ । जनसभाहरुमा थोरैले छोटोमा मुख्य विषयवस्तुहरु प्रस्तुत गनुपर्ने सुझाव दिइएको छ ।
स्थानीय तहको निर्वाचनमा शक्ति सन्तुलनमा आधारमा तालमेलको सम्भावना रहने भएकोले तालमेल सम्बन्धी निर्णय गर्ने अधिकार भने प्रदेश कमिटीले राखेको छ । वडा तथा पालिकाको मत सर्वेक्षणका आधारमा चुनावी तालमेल सम्बन्धी निर्णय प्रदेश कमिटीले गर्ने अध्यक्ष नेम्बाङले बताए । नेकपा माओवादी केन्द्रले सबैभन्दा राम्रो मतपरिणाम ल्याउने पालिका, धेरै वडा जित्ने पालिका र जिल्लालाई पुरस्कृत गर्ने, राजकीय अवसरहरुमा तिनीहरुलाई नै प्राथमिकता दिने प्रतिवद्धतासमेत गरेको छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।