लोड हुँदैछ...

मेनु

‘महानगर प्रमुखमा सशक्त दाबी गर्छु’

‘महानगर प्रमुखमा सशक्त दाबी गर्छु’

विराटनगर । विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्कीले आगामी चुनावमा मेयर पदको टिकटका लागि सशक्त दाबी गर्ने बताएकी छन् । कार्यक्षमता र अनुभवका आधारमा उम्मेदवारबारे निर्णय लिने भएकोले नेपाली काँग्रेसले आफूलाईनै अगाडि सार्ने उनको विश्वास छ ।

विराटनगर महानगरपालिकाले पाँच वर्षको अवधिमा गरेको काम र आगामी निर्वाचनको तयारीको बारेमा हाम्रोमतसँग कुराकानी गर्दै उपप्रमुख कार्कीले सफलतापूर्वक उपप्रमुखको जिम्मेवारी पुरा गरेका कारणले पनि पार्टीले त्यसको मूल्यांकन गर्ने बताएकी हुन् ।

‘पहिलेजस्तो उपप्रमुख भनेपछि प्रमुखको अनुपस्थितिमा मात्र काम गर्ने व्यवस्था अहिले छैन, उपप्रमुखले गर्ने काम र उसको अधिकार संविधान र कानुनमै व्यवस्थित छ,’ उपप्रमुख कार्कीले भनिन् ‘यो पाँच वर्षको अवधिमा बिरामी भएपछिको दुई तीन महिनाबाहेक म सँधै जनताको काममा सक्रियतापूर्वक लागेको छु र मेरो काम यहाँका जनताले राम्ररी देखेका छन् त्यसैले आगामी निर्वाचनको टिकट वितरण गर्दैगर्दा पार्टीले यसको पनि राम्रो मूल्यांकन गर्नेछ ।’ महिला उम्मेदवार अगाडि सार्ने आँट पार्टीले गर्ला त भन्ने प्रश्नमा उपप्रमुख कार्कीले भनिन् ‘मैले टिकट दाबी गर्ने ठाउँ पार्टी हो । मैले पार्टीमा दाबी गरिरहेकै छु । मलाई लाग्छ टिकट मैले नै पाउँनु पर्छ । पाँच वर्षसम्म उपप्रमुख भएर सफलतापूर्वक काम गरेको उपप्रमुखले नै मेयर चलाउने अवसर पाउँनु पर्छ । हिजो महिलाहरुलाई अनुभव छैन, गर्न नसक्लान् कि भनेर उपप्रमुखमा मात्र अवसर दिइयो । अहिले त धेरै महिलाहरुले आफ्नो क्षमता देखाइसकेका छन् नि । उनीहरुले अनुभव पनि हासिल गरेका छन् । त्यसैले पटक पटक महिलालाई अवसरबाट बञ्चित गर्न हुँदैन र नेपाली काँग्रेसले त्यो काम गर्दैन भन्ने मेरो विश्वास हो ।’

सँधै एउटै ठाउँ र पदमा बसेर काम गर्नेभन्दा पछिल्ला पिढीलाई जिम्मेवारी हस्तान्तरण गर्ने संस्कार विकास गर्नुपर्ने उपप्रमुख कार्की बताउँछिन् । ‘राजनीतिमा सँधै एउटै जिम्मेवारी बसेर काम गर्ने कुरा हुँदैन । अगाडि बढ्दै जानुपर्छ । अहिलेका मेयर त्यो भन्दा ठूलो जिम्मेवारीमा जानुपर्छ । उपमेयरलाई मेयर भएर काम गर्ने अवसर दिइनुपर्छ । यसैगरी अरु साथीहरुलाई माथिल्लो जिम्मेवारीमा ल्याउँदा पार्टीमा पार्टीमा उत्साह र जाँगर बढ्छ । अवसरहरु पनि हस्तान्तरण हुन्छ । अनि अनुभव भएकाहरुले थप माथिल्लो तहको जिम्मेवारी लिँदा काम गर्न सहज पनि हुन्छ । त्यसकारणले पनि मेयरका लागि सशक्त दाबेदारी बढाएको हुँ ।’

आगामी निर्वाचनमा मेयरको सशक्त दाबेदारी गरिरहँदा उपमेयरमै दोहो¥याउन आग्रह गर्न सक्ने विषयमा उनले पार्टीले त्यस्तो आग्रह गर्ने विश्वास आफूलाई नभएको बताइन् । ‘मेरो दाबी मेयरकै लागि हुन्छ । म नै सबैभन्दा सशक्त र रोलक्रमले अधिकार राख्ने दाबेदार हुँ । जनताको बीचमा काम गरिरहेको जनप्रनिधि पनि हुँ । त्यसैले मलाई पार्टीले अगाडि बढाएर जिम्मेवारी दिन्छ भन्ने विश्वास छ । मैले गरेको काम र निर्वाह गरेको भूमिका पार्टीले पनि हेरिरहेको छ । अब सँधै एउटै व्यक्तिले पद ओगटिराख्नु हुँदैन । पार्टीले उपमेयर दोहो¥याउनु पर्छ कि भनेर मसँग छलफल भयो भने मलाई मेयरको जिम्मेवारी दिनुहोस् र उपमेयरमा नयाँ साथीलाई मौका दिउँ भनेर स्पष्ट कुरा राख्छु,’ उपप्रमुखकार्की भनिन् ।

पुरुषवादी सोच र चिन्तन हावी हुँदा २०७४ सालको निर्वाचनमा महिलाहरुलाई उपप्रमुखमा मात्र अगाडि सारिएको भन्दै उनले कार्यदक्षता र कार्यसम्पादन मूल्यांकनका आधारमा योग्य उपप्रमुखहरुलाई वैशाख ३० गते हुने निर्वाचनमा मेयरको उम्मेदवार बनाइनु पर्ने बताइन् ।

चुनाव नजिकै आउँदै गर्दा कतिपयले उपप्रमुख शारीरिक रुपमा अस्वस्थ रहेको भनेर टिप्पणी गरिरहेको भन्दै उनले आफू पूर्णरुपमा स्वस्थ रहेको दाबी गरेकी छन् । ‘अहिले म फिजिकल्ली र मेन्टल्ली दुबै हिसाबले फिट भइसकेको छु । चिकित्सकहरुले तपाईं तन्दुरुस्त हुनुहुन्छ भनेका छन् र म महानगरमा उपस्थित भएर पहिलेकै गति र क्रियाशीलताका साथ काममा जुटिसकेको छु । कहिलेकाँही स्वास्थ्यमा समस्या आउनु सामान्य कुरा हो उपचारपछि मानिस ठिक हुन्छ म पनि भएँ ।’

पाँच वर्ष विराटनगर महानगरपालिकाको उपप्रमुख भएर जिम्मेवारी निर्वाह गर्दा न्यायिक निरुपण गर्ने, अनुगमन गर्ने लगायत आफ्नो जिम्मेवारीमा रहेको काम कुशलतापूर्वक सम्पन्न गरेको उनले बताइन् । ‘उपप्रमुखको जिम्मेवारीमा रहेको काम सम्पादन गर्ने सवालमा जनताको कुनै गुनासो मैले सुनेको छैन, नजानेर वा ध्यान नपुगेर कहीँकतै कमजोरी भएपनि मेरो नियतकै कारण त्यस्तो भएजस्तो लाग्दैन र कतै कमजोरी भएमा सहजै स्वीकार गर्ने र सच्याउने मेरो स्वभावका बारेमा पार्टीका सबै साथीहरु जानकार हुनुहुन्छ ।’

विराटनगर महानगरपालिकाको नेतृत्वका लागि चुनावमा जनताबीच गरेको बाचाहरु सबै पूरा गर्न नसकेपनि धेरै काम गरेको उनको भनाइ छ । स्रोतको अभाव र करिव दुई वर्ष कोरोना महामारीले गर्दा चाहेजति काम गर्न नसकेको उनले बताइन् । ‘मलाई चबाएर कुरा गर्न आउँदैन , जे हो त्यही बोल्नुपर्छ । यहाँ काम हुँदै नभएका होइनन्, भएका छन् । भएको कामको मूल्यांकन गरिनुपर्छ । हामीलाई स्रोतसाधनको कमी रह्यो । भरतपुरले जति बजेट पाउको भए हामीले धेरै गर्न सक्थ्यौं तर हामीले त हेटौंडा उपमहानगरको जति पनि सहयोग संघ सरकारबाट पाएनौं । यद्यपि अभावकै बीचमा हामीले जति काम ग¥यौं त्यसबाट म सन्तुष्ट नै छु ।’ यद्यपि महानगरपालिकाले दीर्घकालीन योजनाहरुका लागि स्रोत खोजी गर्ने र गुरुयोजनाहरु तयार पार्ने विषयमा भने अझै काम गर्नुपर्ने अवस्था रहेको उनले बताइन् ।

आउँदो निर्वाचनमा मेयर पदको उम्मेदवारी घोषणा गर्दा योजना र विकासको खाकासहित उपस्थित हुने उनले बताएकी छन् । शिक्षा र स्वास्थ्य क्षेत्रको विकासलाई केन्द्रविन्दूमा राखेर योजना तयार गरिरहेको उनको भनाइ छ । स्वास्थ्य चेतना र सेवा दुवै क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको भन्दै उनले छोरी बचाऊ, छोरी पढाऊ भन्ने कार्यक्रमलाई अझ सशक्त बनाउने चाहना राखेको पनि सुनाइन् । उनले भनिन् ‘यो शिक्षा र चेतनाको कुरा हो, यो स्वास्थ्यको पनि मुद्दा हो । पढेलेखेका डाक्टर र प्रोफेसरहरुनै छोरा जन्माउन छोरीको भ्रुण हत्या गर्ने गरेको मैले आफैंले देखेको छु । स्वास्थ्य शिक्षा र चेतना प्रसार गरेर मात्र त्यसलाई रोक्न सकिन्छ । स्थानीय सरकारले त्यसमा विशेष काम गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।