सपुतले हटाए ‘पिर’को विवादित दृश्य

पिरमा प्रतिकात्मक रुपमा राखिएको एउटा दृष्यले, पात्रले चित्रण गरेको सम्बन्धित समूहको आत्मसम्मानमा चोट पुगेको र गित तथा भिडियोका अन्य सौन्दर्यलाई समेत छायाँमा पारेको स्वीकार गर्दै उनले पुरानो भिडियो हटाएपछि त्यसलाई अतिरन्जित गरेर सोसियल मिडियामा सेयर नगर्न पनि अनुरोध गरेका छन् ।

विराटनगर । गायक प्रकाश सपुतले हालै सार्वजनिक गीत ‘पिर’को भिडियोबाट विवादित दृश्य हटाएका छन् ।

अघिल्लो साता सार्वजनिक गीतमा माओवादी जनयुद्धमा सहभागी महिला यौन व्यवसायमा रहेको आशय देखिने दृश्य राखेपछि चौतर्फी आलोचना भएको थियो ।

शनिबार गायक सपुतले शनिबार दिउँसो उक्त गीतको अर्को भिडियो अपलोड गरेका छन् । पुरानो भिडियोका केहि दृष्य हटाइएको छ ।

गायक प्रकाश सपुतले जनयुद्धले व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन हुन नसकेको देखाउन मात्र खोजेको बताएका थिए । उनले गीतबाट कसैको भावनामा चोट पुगेको भए आफूले माफी माग्ने बताएका थिए ।

सपुतले एक सातामा एक करोडभन्दा धेरै पटक हेरिएको पिरले सफलता मात्रै होईन धेरै कुरा सिकाएको बताएका छन् । सिर्जना गर्दा त्यसलाई नेपाली दर्शक, स्रोता, सम्बन्धित कथा पात्रले चित्रण गर्ने समूह, समुदाय र समग्र समाजको कस्तो दृष्टिकोण रहन्छ भन्ने कुराको हेक्का राख्नु पर्ने चेत गराएको उनको भनाइ छ ।

गीतको नयाँ भिडियो अलपलोड गरेको जानकारी दिँदै सामाजिक सञ्जाल फेसबुकमा सपुतले सिर्जना गर्दा अझै धेरै अध्ययन गर्न प्रेरित गरेको बताएका छन् । पिरमा प्रतिकात्मक रुपमा राखिएको एउटा दृष्यले, पात्रले चित्रण गरेको सम्बन्धित समूहको आत्मसम्मानमा चोट पुगेको र गित तथा भिडियोका अन्य सौन्दर्यलाई समेत छायाँमा पारेको स्वीकार गर्दै उनले पुरानो भिडियो हटाएपछि त्यसलाई अतिरन्जित गरेर सोसियल मिडियामा सेयर नगर्न पनि अनुरोध गरेका छन् ।

आफ्नो गीतको दृश्यले नियोजित रुपमा माओवादी आन्दोलनलाई बद्नाम गर्न खोजिएको भन्ने बुझिने भएकोले कुनै दबाब र प्रभावले नभएर प्राप्त प्रतिक्रिया, अग्रज स्रष्टा र सर्जकहरुको सुझाव, लेखक, पत्रकार, समिक्षकहरुको समिक्षा र सम्बन्धित समुहको आत्मसम्मानलाई मनन गर्दै त्यो दृश्य सम्पादन गरिएको बताएका छन् । एक सातासम्म ट्रेन्डिङ १ मै रहेको गीतको भिडियोमा ५ लाख ५० हजार लाईक र ३८ हजार प्रतिक्रिया थियो ।

शनिबार, ०५ चैत, २०७८, साँझको ०७:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर