विराटनगर । विराटनगर आधुनिक सहरको रुपमा विकसित भइरहेको छ । म दाबीका साथ भन्छु, ५ वर्ष पछि विराटनगर आएका मानिस छक्क परेका छन्, यहाँका सडक युरोपको जस्तो छ । विकासका लागि प्रतिबद्ध भएरै मैले महानगरको नेतृत्व लिएको थिएँ । अहिले कार्यकालको अन्तिम प्रहरमा आइपुग्दा आफूले गरेका काममा गौरव लाग्छ । अझै धेरै काम अपुरा छन् । महानगरलाई विकसित तुल्याउने भोक अझै पूरा भएको छैन ।
म एउटा युवा हुँ । ३९÷४० वर्षको उमेरमा मेयरको टिकट पाएको थिएँ । केही गर्छु, पृथ्वी नै पल्टाउँछु भनेर हिंडेको मान्छे हुँ म । विद्यार्थी आन्दोलनबाट आएर ०६२÷०६३ सालको आन्दोलनमा जेल गएको थिएँ । महेन्द्र मोरङ क्याम्पसको स्ववियु चुनावमा विद्रोही उम्मेद्वार भएर सभापति जितेको मान्छे हुँ म । ४ पटक त स्ववियुको विभिन्न पदमा जितेर भूमिका निर्वाह गरेको हुँ ।
स्ववियु सभापति बाट सिधै कांग्रेसको नगर सभापति भएको हुँ । स्ववियुबाट सिधै पार्टीको पद पाउन गाह्रो हुन्छ । अहिलेसम्म कोही पनि आएका छैनन् । कसैले वडाध्यक्ष हुँदै मेयरको टिकट पाएका छन् । मैले एकैपटक मेयरको टिकट पाएर जितेँ । त्यसपछि पहिलो महाधिवेशन प्रतिनिधि भएर सिधै पहिलोपटक कांग्रेसको केन्द्रीय सदस्य भएको छु । नगर सभापतिबाट केन्द्रीय सदस्य भएको पनि काँग्रेसमा कोही छैनन् ।
मैले राजनीतिलाई कहिल्यै पेशा बनाएको छैन । मेरो ब्रम्हले जे भन्छ त्यो गरेको छु । म सफल, बनुँ या नबनुँ, मैले सेवासुविधालाई पनि स्कुल तथा सामाजिक सेवामा लगाएको छु । मेरो एउटा छोरा, एउटा छोरी र श्रीमती छन् । मेरो पैतृक सम्पत्ति छ । मेरो क्याम्पस–रेस्टुरेन्टमा लगानी छ । मेरो उद्यम पनि छ । मैले करोड रकम राखेर टिकट पाएर आएको पनि होइन ।
मेरो परिवारिक अवस्था त्यत्रो धेरै सम्पत्ति भएको पनि होइन । मेरो पारिश्रमिक र सेवा सुविधाबाट पाउने २७ लाख रुपैयाँ पुग्दो रहेछ । त्यसलाई मैले सामाजिक सेवामा खर्च गरेको छु । मसँग धेरै सम्पत्ति भएर त्यो खर्च गरेको पनि होइन । मैले देश र जनताका लागि गर्ने सेवा भावको आधारमै गरेको हुँ ।
यसअघि जति धेरै काम गर्नुपथ्र्यो त्यो भएन । कोरोनाले डिस्टर्ब गर्यो । संघ सरकार र प्रदेश सरकार हामी अनुकूल भएन । संघ र प्रदेश सरकारको बजेट देख्न पाइएन । मेरो पहिलो लक्ष्य नै विराटनगर बनाउने भन्ने थियो । विराटनगरका मेयरले अनियमितता र भ्रष्टाचार गरेको प्रमाणित होस्, मेयर मात्रै होइन सार्वजनिक राजनीतिबाट सन्यास लिन्छु भनेको छु ।
मेरो एक किसिमको प्रतिबद्धता पनि छ । मेरो पालामा घुस खाने राजस्वका २ जना कर्मचारीलाई पक्राउ गरेर अख्तियारमा पठाएको छु । काम नगर्ने ५ जना निर्माण व्यवसायीलाई पक्राउ गरेको छु । तपाई इमान्दार हुनुभयो भने कसैसँग डराउनु पर्दैन । तर, इमान्दार हुन चाहिं धेरै गाह्रो रहेछ ।
के देला, कस्तो देला भन्ने खालका मानिस मसँग रिसाएका छन् । उनीहरुको अपेक्षा पैसा दिनुपर्छ भन्ने थियो । तर, म घरबार बेचेर त दिन सक्दिन थिएँ । भ्रष्टाचार गरेर दिनसक्ने कुरा पनि थिएन । विराटनगरमा जति पनि प्रमुख प्रशासकीय अधिकृतहरु आए महानगरपालिका भनेर कमाउने अपेक्षासहित आए । कमिसन पिसीको हिसाव गरेर आएका थिए । यहाँ १ रुपैयाँ पिसी वा कमिसन पनि चल्दैन । मैले ५ जना निर्माण व्यवसायी थुन्दा पिसी र कमिसन मैले मागेको थिएँ भने पत्रकार सम्मेलन गर्दैन थिए उनीहरुले ? डेढ २ सय मानिस आएका थिए ।
अब ‘तँ चुनाव हार्छस्’ भन्दै आएका थिए तर मैले आउँदो ४÷५ वटा चुनाव लड्न सक्छु । गलत काम गर्दा हार्ने भएँ भने त्यति नै पटक हार्न तयार भएँ । शिक्षकको दरबन्दी मिलानमा पनि मैले निःस्वार्थ काम गरें । त्यहाँ धेरै कांग्रेसका शिक्षक थिए । त्यसबेला पनि मलाई घेर्न आएका थिए । तर, मैले रिजल्ट निकाल्नका लागि चुनाव हार्न तयार छु भनेर पठाइदिएँ ।
गाइपाल्ने शिक्षक, जग्गा दलाल गर्ने शिक्षक भएको छ । विद्यालय जानुछैन । त्यसकारण मैले आफ्नो ढंगले सरुवा गरिदिएँ । मेरो एजेण्डा सरकारी विद्यालय सुधार्ने पनि थियो । म मेयर भइसकेपछि नमूना विद्यालयहरु बनाउने भनेर लागेको छु । अहिले पनि १० वटा विद्यालय नमूना छन् । हिजो यी विद्यालयमा कोही पढ्न आउँदैन थिए । अहिले सबै आउन थालेका छन् । ती विद्यालयमा हिजो ५ सय विद्यार्थी थिए, अहिले ३३ सय विद्यार्थी छन् ।
क्षेत्रीय विमानस्थल निर्माणको काम एमाले सरकारका कारण अघि बढ्न सकेन । ओली सरकारले विराटनगर एयरपोर्टका लागि एक रुपैयाँ पनि छुट्याएन । क्षेत्रीय विमानस्थल बनाउने भनेर मुआब्जाका लागि जग्गा रोक्का राखियो । तर, एक रुपैयाँ पनि पैसा नदिएको कारण सर्वसाधारणले अहिले पनि दुःख पाइरहेका छन् । महानगरले घोषणा पत्रमा राखेको कुरा पूरा गरेन भनेर समाचार आयो । रिङ रोड बनाएन भन्ने कुरा आएको थियो । रिङरोड महानगरले बनाउन सक्दैन । विजुलीको तार अण्डरग्राउण्ड गर्ने कुरा हामीले सक्दैनौं ।
एयरपोर्ट बनाउन हामी सक्दैनौं । पहल गर्ने भनेको छ, पहल गर्यौं । यो काम एमाले सरकारले गरेन । नगरले गर्ने सानातिना काम गरिरहेकै छ । वडा समितिहरु बनेका छन् । १५ बेडको बर्थिङ सेन्टर बनाउने काम गरिरहेका छौं । विराटनगरमा डेढ सय किलोमिटर पिच गर्यौं । एडिबीले बनाएको बाटो हो भन्छन् । तर, नेपालमा वैदेशिक अनुदान बेगर कति बाटो बन्छन् ? त्यो त आफ्नै स्रोतबाट बनेको होइन । हाम्रो पालामा एडिबीले बनाइदियो । सबैभन्दा राम्रो गुणस्तर विराटनगरको भयो । त्यही कारण थप योजना हामीलाई एडिबीले दिएको छ । बस टर्मिनल हाम्रै पालामा भयो । तारिणीप्रसाद कोइराला संचारग्राम बन्यो । अब चैतमा त्यसको उद्घाटन हुँदैछ ।
५ वर्ष अगाडि विराटनगर आएको मान्छेले अहिले आउँदा चिन्दैन । मेरो एउटा साथी ५ वर्ष पछि आउँदा विराटनगरको विकास देखेर मसँग छक्क पर्दै आयो । सात सालदेखि ०६२÷०६३ सालसम्ममा धेरै विराटनगरबाट धेरै नेताहरुले नेतृत्व लिनुभयो । प्रधानमन्त्री नै ८÷९ जना बन्नुभयो । उनीहरुले राजनीतिक जिम्मा लिए पनि यहाँको विकासमा ठूलो योगदान गरेनन् । तर, म आएपछि भएको कामको कारण धेरै मानिसले खुसी व्यक्त गरेका छन् । आरयुडिपी प्रोजेक्टमार्फत समयमै काम सम्पन्न भएको थिएन भने एडिबीले थप पैसा दिँदैन थियो ।
म ठगठाग, लपनछपन गर्ने मान्छे होइन । मेयरलाई अधिकांश मानिसले चिन्छन् तर यहाँ त म आफैं सबैलाई चिन्छु । विद्यार्थीकालदेखि नै लड्दै भिड्दै आइयो त्यसकारण पनि तल्लो तहका जनताको अपेक्षा के हो भन्ने कुरा म बुझ्छु । यसपटक मैले संघको टिकट पनि पाउने सम्भावना छ । तर, मैले धेरै सोचेर मेयरमै दोहोरिने निश्चय गरेको छु ।
पार्टीले टिकट जसले जित्छ, त्यसलाई दिने हो । हिजो मसँगै टिकटका लागि प्रतिष्पर्धामा अरु धेरै जना हुनुहुन्थ्यो । त्यसमा पनि सबै सिनियर थिए । जस्तै डिला संग्रौला, अमृत अर्याल हुनुहुन्थ्यो । त्यसबेला सबैभन्दा कान्छो थिएँ म । उहाँहरुलाई उछिनेर म मेयर भएको हुँ । अहिले त म मेयर छु । कांग्रेसले मलाई टिकट नदिनुपर्ने कारण केही पनि छैन । यो पार्टीको आन्तरिक चुनाव होइन ।
चुनाव जित्नु परेन अरुले ? म त अहिले पनि ४-५ घण्टा सुतेर १८ घण्टाभन्दा बढी जनताको काम गरिरहेको छु । त्यसकारण म नै कांग्रेसको टिकट पाएर जित्ने उम्मेद्वार हुँ । कांग्रेसका १६ जना मेयरका उम्मेद्वार थिए यस अगाडि पनि । त्यो चुनावमा १६ जनामध्ये १ जना पनि चुनाव प्रचारमा हिंडेनन् । मसँग प्रमाण छ । त्यति हुँदा पनि मैले ५-६ हजार बढी मत ल्याएर जितेको हुँ ।
चुनावमा मैले धेरै खर्च गरेको पनि होइन । मेरो व्यक्तिगत खर्च साढे ३ लाख मात्रै भयो । अन्य पार्टी तथा समर्थकहरुले नै खर्च गरिदिए । भोलि पनि म पैसा बाँडेर राजनीति गर्दिन बरु हार्न तयार छु ।
(विराटनगर महानगरका प्रमुख भीम पराजुलीसँग गरिएको कुराकानीमा आधारित । )

