लोड हुँदैछ...

मेनु

संखुवासभा दुर्घटना : घाईते उद्धारका लागि हेलिकोप्टर संखुवासभा जाँदै

संखुवासभा दुर्घटना : घाईते उद्धारका लागि हेलिकोप्टर संखुवासभा जाँदै

विराटनगर । गृहमन्त्री बालकृष्ण खाणले संखुवासभाको मादी नगरपालिका वडा नं ६ पुलुङस्थित सात घुम्तीमा भएको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरूलाई उद्धारका लागि हेलिकोप्टर पठाउन निर्देशन दिएका छन् । बस सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएकाले मृतकहरुको उद्धार गर्न हेलिकोप्टर पठाउन लागिएको गृहमन्त्रालयले जनाएको छ ।

उनले गृहसचिव टेकनारायण पाण्डे र संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालाई दुर्घटनामा घाइते भएकाहरूको हेलिकोप्टर प्रयोग गरेर यथाशिघ्र उद्धार गर्न निर्देशन दिएका हुन् । ‘मन्त्रीन्यूबाट घाइतेहरूको हेलिकोप्टरबाट उद्धार गर्न निर्देशन भएको छ । हामीले नेपाली सेनासँग सम्पर्क गरेर हेलिकोप्टर उद्धारका लागि संखुवासभाको चैनपुरमा पठाउने तयारी गरिरहेका छौँ,’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी खतिवडाका अनुसार मादीबाट धरान जान लागेको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ भने पाँच जना गम्भीर घाइते छन् । गम्भीर घाइते ५ जनालाई चैनपुरबाट हेलिकोप्टरमा धरान लैजाने तयारी भइरहेको प्रजिअ खतिवडाले जानकारी दिए ।दुर्घटनामा मादी ठेगाना भएका ४८ वर्षीय डम्बरबहादुर कार्की, २२ वर्षीय तुलसा कटवाल, १७ वर्षीय करिस्मा तामाङ, २४ वर्षीय सुवास तामाङ र २४ वर्षीय युका पोखरेल घाइते छन् ।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । ‘ घाइतेलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी भइरहेको छ’ उनले भने,‘ हामी हेलिकप्टर पर्खिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।