किएभ । युक्रेनमाथि आक्रमण गरेको दोस्रो दिन रूसी सैनिकहरूले राजधानी किएभलाई निसाना बनाएका छन्।
द न्युयोर्क टाइम्सका अनुसार युक्रेनको उत्तरी छिमेकी बेलारूसमा रहेका रूसी सैनिकहरू राजधानी किएभतर्फ अघि बढिरहेका छन्। रूसी सैनिक किएभ पुग्ने यो नै सबैभन्दा छोटो बाटो हो।
युक्रेनी र अमेरिकी अधिकारीहरूका अनुसार रूसी राष्ट्रपति भ्लादिमिर पुटिन किएभको सत्ता पल्टाउन चाहन्छन्। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको सरकारलाई उनले पश्चिमाहरूको पिछलग्गु बताउँदै आएका छन्।
पुटिनले जतिसक्यो चाँडो किएभ कब्जा गर्नकै लागि छिमेकी बेलारूसमा यसअघि नै हजारौं सैनिक उतारेका थिए। बेलारूससँग संयुक्त सैन्य अभ्यास गर्ने भनेर गएका भए पनि ३० हजार रूसी सैनिक महिनौंदेखि बेलारूसमा बसेका थिए।
रूसी सैनिकहरू बेलारूसबाट अघि बढेसँगै युक्रेनको राजधानी किएभमा बिस्फोटहरू भएका छन्। केही क्षेप्यास्त्रहरूलाई आकाशमै निस्तेज पारिएको बताइएको छ भने एउटा रकेट मानिसहरू बस्ने अपार्टमेन्टमा खसेको छ। किएभमा एयर रेड साइरनहरू बजेका छन्।
यसैबीच युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रूसी सैनिकको पहिलो निशाना आफू भएको बताएका छन्।
शुक्रबार एक सम्बोधन गर्दै जेलेन्स्कीले भनेका छन्( उनीहरूले पहिलो निशाना मलाई बनाएका छन्। त्यसपछि उनीहरूले मेरो परिवारलाई मार्नेछन्। राष्ट्र प्रमुखलाई मारेर उनीहरू युक्रेनलाई राजनीतिक रूपमा ध्वस्त पार्न चाहन्छन्।
आफू युक्रेन नछोडेर नभाग्ने जेलेन्स्कीले बताएका छन्। ‘म राजधानीमै बस्नेछु र मेरो परिवार पनि युक्रेनमै रहनेछ,’ उनले भनेका छन्। रूसी आक्रमणबाट अहिलेसम्म १३७ युक्रेनीको मृत्यु भएको पुष्टि भएको छ। क्षतिको विस्तृत विवरण आउन बाँकी छ। एजेन्सी



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।