विराटनगर । दूधमा पाइने अतिरिक्त रकम (टीएस)मा कटौति गरेपछि प्रदेश १ का दुग्ध उत्पादक सहकारी संस्थाहरु आन्दोलित भएका छन् ।

दुग्ध विकास संस्थान (डीडीसी)ले देशभरका दुग्ध उत्पादक सहकारीलाई दूध संकलन गरेवापत प्रतिलिटर ३ रुपैयाँका दरले दिँदै आएको टिएस वापतको रकम कटौति गरेपछि प्रदेश १ का दुग्ध सहकारीहरु आन्दोलित भएका हुन् ।

टिएस रकम विगतमा झैं निरन्तर भुक्तानी नगरे चरणवद्ध आन्दोलनमा जाने भन्दै उनीहरुले चेतावनी दिएका छन् । धनकुटाका जिल्लाभरीका दुई दर्जन दूग्ध उत्पादक सहकारीहरुका पदाधिकारीहरु आइतबार दुग्ध विकास संस्थान विराटनगर दुग्ध वितरण आयोजनामा पुगेर ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले कटौति गरेको टीएस रकम यथावत राख्नुपर्ने माग गरेका थिए ।

दुग्ध उत्पादक जिल्ला सहकारी संघका अध्यक्ष नरबहादुर कट्वालले सरकारी स्वामित्वको संस्थानले किसानले पाउँदै आएको रकममा मनलाग्दी कटौति गर्न नहुने बताए । ‘घटाएको टिएस रकमलाई निरन्तरता दिइनु पर्छ भनेर हामी दवाव दिन आएका हौं, त्यसलाई निरन्तरता दिइएन भने हामी चरणवद्ध आन्दोलन गर्न बाध्य हुनेछौं,’ उनले भने ।

संस्थानले २६ माघमा टिएस रकम कटौति भएको भन्ने जानकारी सहकारीहरुलाई पठाएको थियो । दूग्ध उत्पादक सहकारीहरुले पाउँदै आएको टिएस रकम कटौति भए सहकारी सञ्चालनमा कठिनाइ भई दूध संकलन नै बन्द हुने अवस्था आउने भन्दै उनीहरुले संस्थानलाई दवाव बढाएका हुन् । डीडीसीले प्रदेश १ का २७२ वटा दुग्ध उत्पादक सहकारीबाट दैनिक १४ हजार ५ सय लिटर दूध संकलन गर्दै आएको छ ।

दुग्ध विकास संस्थान विराटनगर दुग्ध वितरण आयोजना प्रमुख गणेशकुमार यादवले सरकारले दूधको मूल्य वृद्धि गरेपछि टिएस कटौति भएको र त्यसको जानकारी पनि आफूले माथिबाट पाएको बताए । ‘यहाँबाट कटौति भएको होइन,’ उनले भने, ‘ दूधमा पाइने अतिरिक्त रकम टीएसको कटौति गरेको परिपत्र केन्द्रबाट आएको हो ।’