विराटनगर । अन्तर्राष्ट्रिय सहयोगी सस्था ुहेल्पिङ ह्याण्ड फर रिलाइफ एण्ड डेभलपमेन्टुले मोरङको रतुवामाइ नगरपालिका ९ स्थित जनता माध्यमिक विद्यालयमा निर्माण गरिएको शुद्ध खानेपानी परियोजना विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

आइतवार एक कार्यक्रमका बीच प्रदेश नम्बर १ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले रिवन काटेर उद्घाटन गरेसँगै संस्थाले विद्यालयलार्इ परियोजना हस्तान्तरण गरेको हो । विद्यार्थीलाई शुद्ध खानेपानीको व्यवस्थापन गर्नका लागि प्लाण्ट स्थापना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले शुद्ध खानेपानीले विद्यार्थीको स्वास्थ्य स्वस्थ रहने उल्लेख गर्दै स्वस्थ तरिकाले नवीन ज्ञान लिन सहयोग गर्ने बताए । मन्त्री कार्कीले आधुनिक समाज सँगसँगै सिकाइको माध्यमलाई पनि आधुनिक ढंगले चल्नुपर्नेमा जोड दिए । उनले परीक्षामा पास गर्नकै लागि पढ्ने र पढाउने बानी त्याग्नुपर्ने बताए । नैतिक शिक्षामा जोड दिन शिक्षकहरुलार्इ उनको निर्देशन छ ।

मन्त्री कार्कीले विद्यार्थीलाई पढ्ने वातावरणको सिर्जना गर्नका लागि खेलकुदका सामग्री, बाल उत्थान लागाएतका संरचना निर्माण गर्नुपर्ने बताए । त्यसका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने उनको भनाइ छ ।

कार्यक्रममा रतुवामाइ नगरपालिका मेयर रविन राइले अन्तर्राष्ट्रिय संस्थाले प्लान्ट निर्माण गरेकोमा धन्यवाद व्यक्त गर्दै नगरका सार्वजनिक स्थानमा यस्तै प्लान्ट स्थापना गर्ने योजना रहेको बताए । परियोजनाका निर्देशक इलियास हसन चौधरीले विश्व भरी नै यस्ता परियोजना संचालनमा रहेको बताए । सो प्लान्ट अनुमानित ६ लाखको लागतमा तयार भएको हो । परियोजनाको नेपालमा संयोजन वर्क फर नेपालले गरेको थियो ।