प्रदेश सरकारको मन्त्रालय विस्तार : बजेट बाँडफाँड अझै टुंगिएन

विराटनगर । प्रदेश १ को सरकार विस्तारको दुई साता बितिसक्दा पनि कार्यक्रम र बजेट बाँडफाँड टुंगिएको छैन ।

गत माघ २३ गते प्रदेश १ सरकार विस्तार भएको थियो । साविकको ७ वटा मन्त्रालयलाई विभाजित गरेर १२ वटा पु¥याइएको भएपनि ती विभाजित मन्त्रालयको कार्यक्रम र बजेट अझै विभाजन भइसकेको छैन ।

प्रदेश १ सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार राईले आफू नियुक्त भएको ९७ दिनसम्मको लामो कसरतपछि मन्त्रीमण्डल विस्तार गरेका थिए । यद्यपि मन्त्रालय विभाजन, कार्यक्रम र बजेट बाँडफाँडको तयारी भने सरकारले गरेको देखिएन । जसका कारण दुई हप्तासम्म सरकारका मन्त्रालयले राम्रोसँगले काम गर्न सकेका छैनन् ।

सबै मन्त्रालयको कार्यक्रम अनुसारको बजेट बाँडफाँड अबको यो साताभित्र सम्पन्न हुने प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बताए । ‘अहिले काम धमाधम भइरहेको छ, सबै मन्त्रालयमा लेखा अधिकृतहरु शुक्रबार पठाइसकिएको छ,’ आङ्बोले भने, ‘सचिव तथा प्रशासनिक कर्मचारीहरुको व्यवस्थापन पनि भइसकेको छ, यो साताभित्रमा कार्यक्रम अनुसार सम्बन्धित मन्त्रालयलाई बजेट बाँडफाँड गरेर पठाउने गरी काम अगाडि बढिरहेको छ ।’

सोमबार, ०९ फागुन, २०७८, बिहानको १०:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर