बिर्तामोड । बेल्ला मोटर्स प्रा.लि.ले गरेको विज्ञापन अनुसारको सेवासुविधा उपलब्ध नगराउँदा ग्राहक तथा विक्रेताले ठगिएको गुनासो गरेका छन् । कम्पनीले भने अनुसारको इञ्जिन तथा माइलेज गाडीमा उपलब्ध नहुँदा ठगिएको उनीहरुको गुनासो छ ।

झापाको बिर्तामोडमा आइतबार पत्रकार सम्मेलन गरेर बेल्ला मोटर्स प्रा.लि.को आधिकारिक विक्रेता आरती बुद्ध अटोमोबाइल्स प्रा.लि.ले बेल्लाको गैरजिम्मेवारीका कारण आफूहरु ठगिएको जनाएको छ । बेल्ला मोटर्सले हेटौडामा एसेम्बल प्लाण्ट राखेर ३ चक्के मालबाहक सवारी उत्पादन गर्दै आएको छ । कम्पनीसँग गाडी बिक्री गरेर भुक्तानी गर्ने सहमती अनुसार कारोबार थालिएको तर गाडीमा समस्या आएपछि बेल्ला मोटर्स गैरजिम्मेवार बनेको आरती बुद्ध अटोमोबाइल्सका सञ्चालक टिका ओडारीले आरोप लगाए । आरती बुद्धले बिक्री गरेको ४ वटै गाडीमा समस्या आएपछि कम्पनीलाई जानकारी गराइएको तर कम्पनीले समस्या समाधानमा कुनै चासो नदिएपछि गाडी फिर्ता लिएर आफूले ग्राहकको पैसा फिर्ता दिएको ओडारीले बताए । उनले कम्पनीलाई दिनुपर्ने सम्पूर्ण भुक्तानी गरिसकेको र ग्राहकको समेत पैसा आफूले नै पैसा फिर्ता गर्नुपर्दा दोहोरो मारमा परेको गुनासो गरे ।

बेल्ला मोटर्सका बजार प्रतिनिधी निर्मल पाण्डे, आरती बुद्धका सञ्चालक ओडारी र गाडी खरिदकर्ताहरु बिच समस्या समाधानका लागि २०७८ मंसिर १९ गते इलाका प्रहरी कार्यालय बिर्तामोडमा लिखित सहमति भएको थियो । बेल्ला मोटर्स र आरती बुद्ध बिच भएको असमझदारी तथा गाडीमा आएको समस्याका बारेमा एक हप्ता भित्रमा समाधान गर्ने सहमति पत्रमा उल्लेख छ । तर, लामो समयसम्म पनि कम्पनीले समस्या समाधानका लागि कुनै पहल नगरेको र पछिल्लो समयमा आएर गैरकानूनी अभिव्यक्ति दिन थालेका कारण आफूहरु ठगिएको ओडारीले गुनासो गरे । उनले कम्पनीलाई तत्काल गाडी फिर्ता लिएर आफ्नै पैसा फिर्ता गर्न बेल्ला मोटर्सलाई आग्रह गरेका छन् ।

गाडीमा समस्यै समस्या छन् : ग्राहक

बुद्धशान्ति ३ का दिपक भट्टराईले गएको फागुनमा बेल्ला मोटर्सको ३ चक्के पेट्रोल इञ्जिन भएको मालबाहक गाडी किने । गाउँमा काठ, सिमेन्ट, धानपराल लगायतका वस्तु ढुवानी गरेर नेपाल मै केहि गर्ने सपनाका साथ भट्टराईले ६ लाख ४२ हजारमा उक्त गाडी किनेको बताए ।

स्नातक तहमा अध्ययनरत भट्टराई विदेशिनुको साटो नेपालमै रोजीरोटीको व्यवस्था मिलाउने योजनाका साथ गाडी किनेको बताउँछन् । उनले ३ लाख ५० हजार रुपैँया आरती बुद्धमा नगद बुझाए भने बाँकी रकम सहकारीबाट फाइनान्स गराएर गाडी लगे । तर, गाडी लगेर कुदाउन थालेको एक हप्ता नहुँदै समस्या आएको उनको भनाई छ । भट्टराईका अनुसार गाडीमा प्रतिलिटर ३५ किलोमिटर माइलेज दिने भनेर विज्ञापन गरिएपनि गाडीले ६ देखि १० किलोमिटर मात्र माइलेज दियो । गाडीमा इञ्जिन छिटो ओभरहिट हुने, कुद्दा कुद्दै बिच सडकमा बेलाबेला आफै इञ्जिन बन्द हुने समस्या रहेको उनको भनाइ छ ।

गाडीमा कमाईको साटो उल्टो खर्चहुने, कम्पनीले सर्भिस नदिने बुझेपछि भट्टराईले ३ महिना कुदाएर गाडी फिर्ता गरेको बताए । भट्टराईजस्तै नेपालमा नै स्वरोजगार बन्ने उद्धेश्यले बिर्तामोड ३ का आस्मादिन खानले पनि बेल्ला मोटर्सको तीन पाङ्ग्रे गाडी किनेका थिए । उनी वैदेशिक रोजगारीका लागि कतार गएर फर्किएका व्यक्ति हुन् । उनका अनुसार गाडी चाबी अफ गरेर राखेको स्थानमा आफैँ स्टार्ट हुने समस्या रहेको बताए । उनलेपनि गाडी किनेको केहि महिनामा नै आरती बुद्धलाई गाडी जिम्मा लगाएको बताए ।

कन्काई ३ का बेदप्रकाश जैनले त एक महिनामा ४ जना ड्राइभर नै फेरेको बताए । गाडीले ३५ किलोमिटर माइलेज दिन्छ भनेर किनेको तर चालकले १० किलोमिटरभन्दा माइलेज दिएन भनेपछि चालकले तेल चोरी गरेको आशंकामा चालक फेरेको जैनले सुनाए । तर जति चालक फेरेपनि माइलेज नबढेपछि गाडीमा नै समस्या भएको बुझेर गाडी फिर्ता गरेको उनले सुनाए । स्थानीय एक पसलमा काम गर्ने जैनले १२ धुर जग्गा धितो राखेर गाडी किनेको तर गाडीका कारण आफूले ठूलो क्षति व्यहोर्नु परेको दुखेसो पोखे ।

अर्का बाह्रदशी ५ का रासिद आलमको पनि पीडा उही छ । गाडी किनेको केहि समयमा नै इन्जिनमा समस्या आएको उनले बताए । माइलेज नदिने, इञ्जिन ओभरहिट हुने, वाइरिङ्मा समस्या आएका कारण आफूले गाडी फिर्ता गरेर आफ्नो पैसा फिर्ता लिएको आलमको भनाइ छ ।