विराटनगर । बैकिङ कसुर मुद्दामा सप्तकोशी डेभलपमेन्ट बैंकका तत्कालीन सीईओ नविन सुवेदीसहित १२ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरिएको छ ।
बैंकको विराटनरस्थित कर्पोरेट कार्यालयबाट १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेका सुवेदीसहित १२ जनालाई प्रतिवादी बनाएर उच्च अदालत विराटनगरमा मुद्दा दर्ताको तयारी गरिएको हो ।
सरकारी वकिलको कार्यालयले अभियोजनलाई अन्तिम रूप दिने चरणमा रहेकोले सम्भवत सोमबारसम्ममा सुवेदीसहित १२ जनालाई प्रतिवादी बनाएर ‘बैंकिङ कसूरमा’ मुद्दा दर्ताको तयारी गरेको अदालत स्रोतले जानकारी दिएछ । पक्राउ परेका पाँच र ७ जनालाई फरार प्रतिवादी बनाएर अभियोग दर्ता गर्ने तयारी सरकारी वकिलको कार्यालयले गरेको हो ।
‘प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाइसकेकोले अहिले अभियोजनलाई अन्तिम रूप दिने चरणमा पुगेका छौं,’ जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरी शर्मा काफ्ले भने, ‘अभियोजन पुरा गरेपछि अभियोग दर्ता गर्ने तयारी गरिएको छ ।’
प्रहरीको न्यायीक हिरासतमा रहेका बैंकका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराई, लेखा वित्त प्रमुख देविप्रसाद भण्डारी, अपरेसन प्रमुख अमित थापा मगर र होम प्रसाद पौडेलसहित फरार रहेकाहरु बैंकका कार्यालय सहयोगी चुडा बहादुर निरौला, बैंकका कार्यालय सहयाक पदबाट राजीनामा दिएका निश्चल सुवेदी, खातावाला बबिता बस्नेत, कमल दाहाल, मनोज भट्टराईलाईलगायतलाई मुद्दा दर्ताको तयारी गरेको हो ।
सिईओ सुवेदीले पदीय जिम्मेवारी दुरूपयोग गर्दै फुपू नाता पर्ने झापा दमक नगरपालिका १३ घर भएकी ४३ वर्षे बबिता बस्नेतको खाताबाट फरक–फरक मितिमा १४ करोड ६ लाख ९३ हजार ७ सय ३५ रूपैयाँ झिकेर हिनामिना गरेको खुलेको छ । अपचलन गरेको रकम मध्ये रेमिट खाताको सन् २०१६ अगस्ट ७ तारेखदेखि बबिता बस्नेतको ९९९०००१५००१५ नं. खाताबाट १४ करोड ५ लाख २१ हजार ३ सय ६५ रुपैयाँ र खर्च खाताबाट सन् २०१६ अप्रिल २२ तारिखदेखि १ लाख ७२ हजार ३ सय ७० रुपैयाँ गरि ६ वर्षमा १४ करोड ६ लाख ९३ हजार ७ सय ३५ रुपैयाँ अपचलन गरेको मोरङ प्रहरीले अनुसन्धान पुरा गरेपछि सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।