विराटनगर । आयात–निर्यातमा प्रतिबन्ध लागेका सामग्रीको तस्करी बढी हुने गरेको तथ्य विपरित निर्यात अनुमति भएकै सामग्री पनि तस्करीमार्फत भारत पुग्ने गरेको छ । राजस्व छलेर बढी नाफा आर्जन गर्न कारोबारीले यस्तो धन्दा चलाउने गरेका छन् ।

यहीक्रममा बहुमूल्य प्रजातिको वनस्पतिभित्र पर्ने ‘कत्था’ नेपालबाट भारत तस्करी हुने गरेको पाइएको छ । विराटनगरबाट तस्करी गरेर भारततिर लैजाँदै गरिएको खयरको कत्था सशस्त्र प्रहरीले बरामद गरेपछि यो रहस्य बाहिरिएको हो । सशस्त्र प्रहरीले विराटनगर भन्सारको एक नम्बर ढाटबाट एक ट्रयाक्टर बरामद गरेपछि यस्तो रहस्य बाहिर आएको हो ।

विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटबाट खयरको कत्था बरामद गरेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिए । बिओपी रानीको टोलीले नेपाल–भारत सीमा क्षेत्रबाट एक हजार ७१ किलोग्राम कत्था बिहीबार बरामद गरेको हो । को १ त ६६२० नम्बरको ट्याक्टर र त्यसमा जडान गरिएको को १ त ५६११ नम्बरको ट्रलीमा राखेर अवैध तरिकाले कत्था भारत लैजाने प्रयास गरिएको खुलेको छ ।

सशस्त्रले कत्था लोड गरिएको ट्याक्टरसहित ट्याक्टरका चालक सप्तरी घर भएका सेवकलाल सदालाई पनि पक्राउ गरेको छ । चालक सदासहित ट्याक्टर र कत्था आवश्यक कारबाहीका लागि बिहीबार साँझ विराटनगर भन्सार कार्यालयमा बुझाइएको एसपी लामिछानेले बताए । प्रहरीेले सानो र ठुलो कार्टुनमा प्याक गरेर बोराभित्र राख्दै ट्याक्टरमा लोड गरेर भारत पुर्याउन लाग्दा कत्था नियन्त्रणमा लिएको हो ।
कत्था ४ लाख ८४ हजार नौ सय ५० रूपैयाँ र त्यसको तस्करीमा प्रयोग गरिएको ट्याक्टर पाँच लाख १५ हजार मूल्य बराबरको रहेको सशस्त्रले जनाएको छ । कत्थाको मूल्य नेपालमा प्रति किलोग्राम चार सय ५० रूपैयाँभन्दा बढी पर्ने सशस्त्रले जनाएको छ ।

भारत पुर्याउँदा दोब्बर मूल्य पाइने भएपछि कत्थाको तस्करी भारततिर हुने गरेको पाइएको हो । ‘नेपालबाट तस्करी गरेर भारततिर कत्था लगिँदै गरेको जानकारी आएको थियो,’ एसपी लामिछानेले भने, ‘त्यसपछि परिचालत गरिएको सशस्त्रको टोलीले दशगजा कटाएर अवैध तरिकाले भारतीय भूमिमा पुर्याउन लागेको अवस्थामा कत्था लोड गरिएको ट्याक्टर नियन्त्रणमा लिएको हो ।’

खयरको काठको चुर (रातो भाग)लाई पानीमा उमालेर निकालिने पदार्थलाई नै कत्था भन्ने गरिएको छ । खयरको काठलाई १२ घण्टाभन्दा बढी पानीमा भिजाएर आगोमा तताउँदै उमालेर निकाल्दा कत्था तयार हुन्छ । पानीमा हालेर उमालेको काठबाट निस्कने ठोस पदार्थलाई कत्था र तरल पदार्थलाई कुच भन्ने गरिन्छ । औषधि, कस्मेटिकका सामग्री र पान बनाउन कत्थाको प्रयोग हुन्छ । भारतमा लगेर प्रशोधन गर्दै कत्थालाई प्रयोगयोग्य बनाउने गरिएको छ ।