लोड हुँदैछ...

मेनु

आन्तरिक उत्पादन कटौतीको असर : मलेसिया र लाइबेरियाबाट आउन थाल्यो काठ

आन्तरिक उत्पादन कटौतीको असर : मलेसिया र लाइबेरियाबाट आउन थाल्यो काठ

विराटनगर । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सरकारले बन्द गरेपछि प्रदेश १ मा काठको उत्पादन घटेको छ । काठ उत्पादनमा गिरावट आएसँगै आन्तरिक खपतका लागि विदेशबाट काठ आयात बढेको छ भने मुद्रा विदेशिने क्रम बढेको छ ।

आफ्नै जङ्गलको काठको वैज्ञानिक व्यवस्थापन गरेर आपूर्ति व्यवस्था मिलाउन सक्ने सम्भावना हुँदाहुँदै त्यसलाई रोकेर सरकारले मलेसिया, इन्डोनेसिया, म्यानमार र भारत लगायतका देशबाट डलरमा काठ खरिद गर्ने बाटो रोजेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा आयात भएभन्दा बढी काठ चालु आर्थिक वर्षको पहिलो सात महिनामै आयात भएको तथ्यांक प्राप्त भएको छ । आन्तरिक उत्पादन रोकिएका कारण काठ आयात बढेको र त्यसवापत ठूलो धनराशी विदेशिने अवस्था आएको हो ।

प्रदेश नम्बर १ मा आार्थिक वर्ष २०७७÷७८ मा २ लाख ७७ हजार २३० क्युबिक फिट काठ विदेशबाट आयात भएको थियो । चालु आर्थिक वर्ष २०७७÷७८ को सात महिनाको अवधिमै २ लाख ७९ हजार २३४ क्यूबिक फिट काठ आयात भइसकेको छ । जोगवनी भन्सारबाट मात्र सात महिनाको अवधिमा २ लाख १२ हजार ५६८ क्युबिक फिट काठ आयात गर्दा ४५ करोड रुपैयाँ विदेशिएको छ ।

यस अवधिमा मलेसिया, इन्डोनेसिया, लाइबेरिया, म्यान्मार र भारतबाट साल लगायत विभिन्न प्रजातिका गोलिया काठ आयात गरिएका छन् । काठ खरिद बापत ३७ लाख २५ हजार ३८१ अमेरिकी डलर र ३० लाख ९ हजार ४६६ रुपैयाँ भारतीय मुद्रा विदेशिएको छ ।

प्रदेश १ को कुल क्षेत्रफल मध्ये ४३ प्रतिशत भूभाग वन क्षेत्रले ढाकिएको छ । प्रदेश १ को २५ लाख ८९ २८३ हेक्टर क्षेत्रफलमध्ये ११ लाख २२ हजार १२६ हेक्टर वनक्षेत्रबाट काठ तथा गैह्रकाठजन्य वस्तुको उत्पादन हुने गरेको छ । कुल वन क्षेत्रको ४ लाख २४ हजार ७१४ हेक्टर क्षेत्रफल सामुदायिक वनले ओगटेको छ भने साझेदारी वनले ७ हजार २७६ हेक्टर क्षेत्रफल ओगटेको छ । राष्ट्रिय वन क्षेत्र बाहेक कवुलियति वन, धार्मिक वन, साझेदारी वन, निजी वन र चक्ला वनमा विभाजन गरेर संरक्षण र उत्पादनको काम गरिरहेको छ ।

प्रदेश १ मा आर्थिक वर्ष २०७७÷७८ मा १ करोड ३६ लाख ७९ हजार ८०० क्यूबिक फिट काठ उत्पादन भएको वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयले जनाएको छ । त्यसमध्ये निजी वनको उत्पादन मात्र १ करोड ३० लाख ९८ हजार ८५२ क्यूबिक फिट छ । निजी वनबाट उत्पादित काठमध्ये उत्तिस, सिमल, कदम, मसला, आदि प्रजाति बढी छन् ।

चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो चौमासिकमा ३३ लाख ८४ हजार ७४५ क्युबिक फिट काठ उत्पादन भएको छ । जसमा निजी वनबाट ३२ लाख ४५ हजार ४११ क्युबिक फिट उत्पादन भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । मन्त्रालयको विवरणले प्रदेश १ मा कुल काठ उत्पादनको ९० प्रतिशत हिस्सा निजी वनमा आधारित छ । तर, निजी वनबाट नरम जातका काठ उत्पादन हुने भएकोले घरसारमा प्रयोग हुने कडा जातका काठका लागि भने उपभोक्ता वन क्षेत्रमै निर्भर छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds