काठमाण्डौं । मंगलबार हिजो मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका कमल थापाले नयाँ पार्टी घोषणाको तयारी थालेका छन् । स्रोतका अनुसार थापाले फागुन पहिलो साताभित्र नै नयाँ पार्टीको घोषणा गर्ने छन् । थापा निकट स्रोतका अनुसार नयाँ पार्टीमा ‘राजसंस्था’ एजेण्डा हुने छैन । थापाले हिन्दुराष्ट्रको एजेन्डामात्र बोक्ने गरी नयाँ पार्टी बनाउन लागेको बुझिएको छ ।
निकटकाहरुसँग नयाँ पार्टीको उद्देश्य, संगठनात्मक संरचना, एजेन्डालगायतका विषयमा सामान्य ब्रिफिङ गरेका थापाले त्यसका लागि आवश्यक दस्ताबेजलाई पनि अन्तिम रुप दिन थालेका छन् । यससँगै थापाले पार्टी एकताका क्रममा खाएको हिन्दूहरूको पवित्र ग्रन्थ गीताको कसम पनि तोडिने भएको छ ।
थापाले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगसँग सामान्य परामर्श गरिसकेका छन् । आजदेखि आफ्नो समूहभित्र थप छलफल गरी पार्टीलाई मूर्तरूप दिने तयारी छ ।
गत मङ्सिर १९ गते सम्पन्न पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका थापाले आफूलाई हराउन पूर्वराजा ज्ञानेन्द्र शाह र उनका सहयोगीहरुले भूमिका खेलेको जिकिर गर्दै आएका थिए ।
सो सम्बन्धमा पार्टीभित्र छलफल हुनुपर्ने थापाको एक सूत्रीय माग थियो । तर सो मागलाई अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन नगरेपछि थापाले गृहजिल्ला हेटौडामा पुगेर पार्टीपरित्याग गरेको एक प्रेस विज्ञप्ती जारी गर्दैै घोषण गरेका थिए ।

