संखुवासभा । संखुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका जाने सडक हिमपातले अवरुद्ध भएको छ । हिमपातका कारण माघ १९ गतेदेखि भोटखोला जाने सडक अवरुद्ध भएको भोटखोला गाउँपालिका कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृत फुर्पु भोटेले जानकारी दिए ।
प्रशासकीय अधिकृत भोटेका अनुसार हिमपातले सडक अवरुद्ध भएपछि भोटखोलाको किमाथांका, रिदाक, छुम्सुर, थुदामलगायतका गाउँमा खाद्यान्न संकट भएको छ । चार फिटसम्म हिउँ परेका कारण आवतजावत गर्ने सडक समेत अबरुद्ध भएको छ । भोटखोला–१ को किमाथांकामा एक सय १६ घर, वडा नम्बर–२ को थुदामका १६ घर, रिदाकका ७७ घर र छुम्सुरका २२ घरपरिवारका लागि खाद्यान्न संकट भएको उनले बताए ।
खाद्यान्न संकट भएका दुई सय ३१ घरपरिवारका लागि तत्काल खाद्यान्न उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय संखुवासभा र गृह मन्त्रालयमा समेत पत्राचार गरिसकेको भोटेले बताए । हिमपातले जनजीवन कष्टकर भई तत्काल खाद्यान्न ढुवानी गर्न नसकिने भएको उनको भनाइ छ ।

गाउँपालिकाले एक महिनाका लागि खाद्यान्न चामल, पिठो, तेल, दाललगायतका सामग्री हेलिकप्टर मार्फत ढुवानीका जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयलाई पत्राचार गरिसकेको प्रशासकीय अधिकृत भोटेले बताए । लगातारको हिमपातले सदरमुकाम खाँदबारी आउन र चीनतर्फ जाने सडक अवरुद्ध भएको छ । हिमपातले स्थानीयले लगाएको अन्नबाली समेत पुरिएको स्थानीयले बताए ।
त्यस क्षेत्रमा हिउँ पर्ने क्रम नरोकिएको स्थानीयले बताए । कोरोना भाइरस संक्रमण फैलन सक्ने भन्दै चीनले किमाथांका नाका प्रवेश गर्ने चीनको देन्दाङ र चाँगा बजार प्रवेश गर्न नाका दुई वर्ष अघिदेखि बन्द गरेको छ । किमाथांका सदरमुकाम खाँदबारीबाट चार दिनको पैदल दुरीमा पर्दछ ।
खाद्यान्य ढुवानीका लागि पहल भइरहेको छ : प्रजिअ खतिवडा
भोटखोला गाउँपालिकामा खाद्यान्न ढुवानीका लागि गृह मन्त्रालयमा जानकारी गराइसकेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए । सडक सञ्जाल नभएका कारण भोटखोलामा खाद्यान्न ढुवानी गर्न समस्या भएको प्रजिअ खतिवडाले बताए ।
प्रजिअ खतिवडाले भने हामीले खाद्यान्न समस्या भएका गाउँको विवरण र घरपरिवार संख्या गाउँपालिकासँग माग गरेका छौं, त्यही अनुसार नै माथिल्लो निकायसँग अनुरोध गरेर खाद्यान्न ढुवानी गरिने बताए । भोटखोलामा गत वर्ष समेत हेलिकप्टर मार्फत खाद्यान्न ढुवानी भएको थियो । भौगोलिक रुपमा निकै विकट मानिएको भोटखोलामा सञ्चार र यातायात साधनको पहुँच अहिले पनि पुग्न सकेको छैन ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।