विराटनगर । मोरंग व्यापार संघका अध्यक्ष नवीन रिजालको नेतृत्वमा संघको टोलीले मीरगंज पुलको समस्या निराकरण एवं सम्भावित वैकिल्पक मार्गहरु मार्फत विराटनगर नाकासम्मको आवागमन सुचारु गराउने विषयमा भारतको अररियाका सरकारी अधिकारीहरुसँग छलफल गरेको छ ।

अध्यक्ष रिजालm सचिव संजय श्रेष्ठ, कार्यकारी सदस्यहरु मनिष मारु, गोपाल अग्रवालसहितको टोलीले बिहीबार अररियास्थित समाहरणालय (कलेक्टरको कार्यालय)मा अररियाका कलेक्टर एवं डिष्ट्रिक्ट मेजिस्टे«ट प्रशान्त कुमारलाई भेटेर समस्या समाधानको लागि ज्ञापनपत्रसमेत बुझाएको छ । भेटमा भारतीय प्रहरीका उपरिक्षक विनोदकुमार सिंह, भारतीय जनता पार्टीका मन्त्री अजयकुमार झा, जिल्लाका महामन्त्री दिलिप झासमेतसँग छलफल गर्दै क्षतिग्रस्त मिरगञ्ज पुलका कारण नेपाली उद्योगी÷व्यवसायीहरुले भोगिरहेका समस्याहरुबारे अवगत गराउँदै समस्याको शिघ्र समाधानको सुझाब दिएको संघले जनाएको छ ।

विराटनगर नाकासम्मको भारतका बथनाहा–जोगबनी मार्गमा अवस्थित मीरगञ्ज पुल गत जनवरी ६ तारिकमा क्षतिग्रस्त भएयता करिब एक महिनादेखि सो मार्गबाट मालवाहक सवारी साधनहरुको आवागमन अवरुद्ध हुन पुगेको छ । त्यसबाट दैनिक करिब ४ सय मालवाहक सवारी साधनहरु हाल भीमनगर–भन्टावारी नाका प्रयोग गर्दै थप १३० किलोमिटर गन्तव्य तय गर्न बाध्य भएको अध्यक्ष रिजालले बताए ।

नेपाली उद्योगी÷व्यवसायीहरुलाई प्रतिमालवाहक सवारी साधनमा करिब २० हजार सम्मको आर्थिक व्ययभार थप हुन पुगेकोले त्यसको निराकरणका लागि भारतीय पक्षबाट तत्कालै विकल्पहरु अपनाउन अनुरोधसहित संघको तर्फबाट सुझावहरु पेश गरेको रिजालको भनाइ छ । विराटनगर नाकामार्फत नेपाल प्रवेश हुने ३० मेट्रिक टनसम्मका सवारी साधनहरुसहित भारत फर्किने खाली सवारी साधनहरुका लागि अररिया–कुर्साकाँटा–जोगबनी मार्ग खुला गरिनुपर्ने, क्षतिग्रस्त मीरगञ्ज पुलको छेउमा अन्तिम चरणमा निर्माणाधिन ४ लेनको नयाँ पुललाई अस्थायी रुपमा आगामी ३ दिनभित्र संचालनमा ल्याउने व्यवस्था गरिनुपर्ने तथा क्षतिग्रस्त मीरगञ्ज पुलको मर्मत कार्य समेत शिघ्रताका साथ सम्पन्न गरिनुपर्ने ज्ञापनपत्रमा सुझाब दिइएको छ ।