विराटनगर । राष्ट्रिय भूमि आयोगले फागुन अन्तिमदेखि भूमिहीन दलित, अव्यवस्थित बसोबासी र सुकुम्बासीलाई पुर्जा वितरण सुरु गर्ने बताएको छ ।
भूमि आयोगको मोरङ जिल्ला कार्यालय उद्घाटन कार्यक्रममा मंगलबार अध्यक्ष केशव निरौलाले पुर्जा वितरणका लागि आवश्यक प्राविधिक र प्रशासनिक काम सुरु भइसकेको जानकारी दिए ।
प्राविधिक कर्मचारीहरु केहि दिनभित्रै आयोगसँग सम्झौता गरेका स्थानीय तहमा पुग्ने र नापजाँचको काम सुरु गर्ने बताउँदै निरौलाले फागुन महिनासम्ममा अमिन र सर्वेक्षकले आफ्नो काम सक्ने र त्यसपछि पुर्जा वितरणको काम सुरु हुने बताए । देशैभरीका सबैजसो पालिकामा छिटफुट रुपमा सुकुम्बासी समस्या भएपनि मुख्यगरी ३३० पालिकामा भने भूमिहीन दलित, अव्यवस्थित बसोबासी र सुकुम्बासी समस्या धेरै रहेको आयोगले जनाएको छ ।
कर्मचारी अभाव लगायत प्राविधिक समस्याका कारण सबै पालिकामा एकैपटक नापजाँच अघि बढाउन नसकिने भएकाले पहिलो चरणमा ६८ वटा पालिकामा काम अघि बढाइएको आयोगका अध्यक्ष निरौलाले जानकारी दिए । कतिपय पालिकाले भने काममा ध्यान नदिएकोले सम्झौता नभएको उनको भनाई छ ।
भूमि आयोग मोरङकी अध्यक्ष शुशिला घिमिरेले आयोगको कार्यक्षेत्रमा नपरेपनि मोरङको पथरीशनिश्चरे, कानेपोखरीलगायतका क्षेत्रमा रहेको दोहोरो स्वामित्वको समस्या समाधानका लागि पनि आयोगले पहल गर्ने बताएकी छन् । सट्टाभर्नामा जग्गा पाएकाहरुको समस्या समाधान गरेर बाँकी रहेको दोहोरो स्वामित्वको समस्या समाधानको लागि स्वामित्व पुर्जा खारेज गर्नेबारे छलफल हुने उनको भनाइ छ ।
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारीसहित सरकारी कार्यालयका प्रतिनिधिहरुको सहभागिता थियो । पहिलो चरणमा आयोगले मोरङको सुन्दरहरैंचा, पथरी, बेलबारी, रतुवामाई, उर्लाबारी र कानेपोखरीमा काम अगाडि बढाएको जनाएको छ ।

