संखुवासभा । संखुवासभा जिल्लामा खानेपानीको चरम अभाव भएपछि तराईका जिल्ला तिर बसाइँ सर्न क्रम तीब्र भएको छ । खानेपानीको हाहाकार भएपछि चैनपुर नगरपालिका–१० का विभिन्न गाउँका १४ परिवारले गाउँ छाडेका छन् । वर्षौदेखि खानेपानी अभाव भएको कारण चैनपुर–१० का १४ घरपरिवार बसाइँ सरेका हुन् ।
गाउँमा पानीको मुहान नहुँदा पिलुवा खोलाको धमिलो पानी ल्याएर प्रयोग गर्न बाध्य छन् । पिलुवा खोलामा पानी लिन जाँदा २ घण्टाभन्दा बढी समय लाग्ने गरेको स्थानीय भरत भण्डारीले बताए । सल्लेरी, कल्लेरी, इखुम्बा झिलझिले, साल विसौना र मलाटेलगायताका गाउँमा चरम खानेपानी अभाव भएपछि स्थानीय बसाइँ सर्न बाध्य छन् । चैनपुरको १० नम्बर वडाबाट २ वर्षमा १४ घरपरिवार तराई वसाईसरेको वडाअध्यक्ष तेतबहादुर कटुवालले जानकारी दिए । गाउँमा खानेपानी अभाव भएपछि इम्खुवा गाउँबाट पदम राई, पूर्णजीत जिमी, धनबहादुर जिमी, इन्द्र तामाङ, मंगल तामाङ बसाइँ सरेका छन् ।
कल्लेरी गाउँबाट प्रेमबहादुर कटुवाल, राम तामाङ, गोविन्द कटुवाल, खगेन्द्र कटुवाल, यामबहादुर राई गाउँमा खानेपानी अभाव भएपछि तराई तिर बसाइँ सरेका छन् । त्यस्तै सल्लेरी गाउँबाट चतुरमान तामाङ, सिंहबहादुर राई, ज्ञानबहादुर राईलगायतको घरपरिवार बसाईसरेका हुन् ।
झिलझिले गाउँको टिकाराम खाती गाउँ छाडेर तराई गएका छन् । चैनपुर नगरपालिकाको करिब २५ सय घरधुरीमा खानेपानीको अभाव रहेको छ । खानेपानीको चरम अभाव भएको चैनपुर–१० मा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, चैनपुर नगरपालिका र युनाईटेड वल्ड स्कुल्स नेपाल संखुवासभाको संयुक्त लगानीमा गत पुसमा लिफ्टिङ खानेपानी शिलान्यास भएको छ । खानेपानी आयोजना शिलान्यास भएपछि कल्लेरी, इखुम्बा, साल विसौना, सल्लेरी, झिलझिले लगायतका स्थानीयले खुसी व्यक्त गर्दै चाँडै सम्पन्न गरिदिन अनुरोध समेत गरेका छन् ।

