धरानमा बाह्रखरी गल्फ प्रतियोगिता हुने

धरान । आगामी फागुन १३ र १४ गते सुनसरीस्को धरानमा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना हुने भएको छ ।

बाह्रखरी मिडियाको आयोजनामा गल्फ प्रतियोगिता हुने भएको हो । बाह्रखरीका प्रधान सम्पादक प्रतिक प्रधानले पत्रकारितालाई बलियो बनाउन कार्यक्रम आयोजना गरिएको बताए ।

प्रदेश १ को समृद्धिमा जोड दिएर गल्फसँगै आर्थिक समृद्धिको बहस पनि अगाडि बढाउन लागेको प्रधानले बताए । प्रदेशको समृद्धिमा जोड दिएर कार्यक्रम गर्न लागेको जानकारी दिँदै उनले इटहरीमा योङ आन्टरप्रिनुअर्ससँग मिलेर कार्यक्रम आयोजना गर्ने र विराटनगरमा उद्योग संगठन मोरङसँग मिलेर इकोनोमिक समिट आयोजना गर्ने बताए ।

प्रदेशका विभिन्न ५ स्थानमा राउन्ड टेबल आयोजना गरेर प्रदेशको विकासबारे बहस गर्न लागेको प्रधानले बताए । संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहका सरकारको सहभागितामा कार्यक्रम गर्न लागिएको बताउँदै उनले इकोनोमिक समीटले यस क्षेत्रको विकासका समस्याबारे छलफल गरेर निकालेको निश्कर्ष सरकारको नीति निर्माणमा पनि सहयोगी हुने विश्वास व्यक्त गरे ।

गोकर्ण गल्फ क्लबका प्रबन्धक दीपक आचार्यले प्रतियोगिताका बारेमा जानकारी गराउँदै धेरै खेलाडीलाई सहभागी गराउन दुई दिने प्रतियोगिता आयोजना गरिएको बताए । विभिन्न विधामा पुरस्कार दिइने बताउँदै अलराउण्ड विजयीले बाह्रगरी गोल्डेन बल र होल इन वान गर्ने खेलाडीले हुन्डाईको ग्रान्ड आई १० नियोस प्राप्त गर्ने जानकारी दिए ।

धरान गल्फ क्लबका अध्यक्ष वीरेन्द्र विक्रम लिम्बुले बाह्रखरीले यस्तो राम्रो कार्यक्रम आयोजना गरेर यस क्षेत्रकै गरिमा बढाइदिने काम गरेको भन्दै धन्यवाद ज्ञापन गरेका थिए । धरानको बीपी प्रतिष्ठानको हातामा गल्फ कोर्स ब्रिटिशहरुले नै सुरु गरेको उनले बताए । सन् १९९० मा ब्रिटिसले छाडेर पोखरामा सिफ्ट भएपछि स्थानीयले सञ्चालन गरिरहेको उनको भनाइ छ ।

आइतबार, १६ माघ, २०७८, साँझको ०७:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर