चौतर्फी दबाबपछि हटाइयो विराटनगरको दरैयास्थित दशगजाको भारतीय सुरक्षापोष्ट

विराटनगर । चौतर्फी दबाब र नेपालका सुरक्षा अधिकारीको समन्वयमा विराटनगरको दरैयास्थित दशगजामा राखिएको भारतीय एसएसबीको सुरक्षा पोष्ट हटाइएको छ ।

विराटनगर १६ को दरैयास्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतले एकाएक सुरक्षापोष्ट खडा गरेको थियो । सोमबार उक्त सीमा क्षेत्रको निरीक्षणमा पुग्नु भएका मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सशस्त्र प्रहरी बलको पहलमा भारतीय सीमा सुरक्षा बलको सुरक्षा पोष्ट दशगजा बाहिर सारिएको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारीले सीमा क्षेत्रमा रहेको सशस्त्र प्रहरी बललाई एसएसबीको सुरक्षा पोष्ट तत्काल हटाउन पत्राचार गरेका थिए । त्यसका साथै उनले भारतको अररीया जिल्लाका डिस्ट्रिक मेजेस्टेडसँग टेलिफोन वार्ता गरी एसएसबीको सुरक्षा पोष्ट हटाउन आग्रह गरेका थिए ।

यो विषयमा भारतीय सुरक्षा अधिकारीहरूले सकारात्मक रूपमा लिएको र हाल सुरक्षा पोष्ट निर्माण गरिएको स्थानमा नेपाली सुरक्षा अधिकारीको आपत्ति रहेमा त्यहाँबाट पनि सार्न सकिने अररीया डिस्ट्रिक मेजेस्टेडले बताएको मोरङका प्रजिअ दाहालले स्पष्ट पारे ।

प्रमुख जिल्ला अधिकारीको निर्देशन प्राप्त हुँदासाथ उक्त स्थानबाट भारतीय एसएसबीको सुरक्षा पोष्ट हटाउन सशस्त्र प्रहरीले पनि पहल गरेको थियो । झण्डै एक महिनाअघि निर्माण भएको उक्त एसएसबीको सुरक्षा पोष्ट अहिले हटेको हो । दुई देशीय सिमानाको दसगजामा कुनै पनि भौतिक संरचना निर्माण गर्न नपाइने प्रावधान छ । भारतले बेलाबेलामा यसखालका बलमिच्याइँ गर्दै आएकोमा नेपालीहरुले तीब्र विरोध प्रकट गर्ने गरेका छन् ।

सोमबार, १० माघ, २०७८, रातीको ०८:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर