संखुवासभा अस्पताल आकस्मिक बाहेकका सेवा बन्द

संखुवासभा । जिल्ला अस्पताल संखुवासभाका ८ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ ।

अस्पतालमा कार्यरत ८ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि सोमबार बाट अत्यावश्यक बाहेकको सेवा बन्द गरिएको जिल्ला अस्पताल संखुवासभाका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिए ।

एन्टिजेन परीक्षण गर्दा जिल्ला अस्पतालका कार्यरत ८ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि माघ १५ गतेसम्म अत्यावश्यक बाहेकको सेवा बन्द गरेको सूचना अधिकारी खत्रीले बताए । सोमबारदेखि अस्पतालमा आकस्मिक सेवा, प्रसूति सेवा र फिभर क्लिनिक मात्र सञ्चालन हुने उनले बताए । जिल्लामा सञ्चालित कोरोना विरुद्धको खोपको अभियान भने यथावत रुपमै सञ्चालन रहने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

संखुवासभामा कोरोनाको तेस्रो लहर फैलिएपछि जिल्लामा सक्रिय सङ्मितको संख्या एक सय ४१ पुगेको छ । हालसम्म ४७ जनालाई निको भएका छन् । मौसम परिवर्तन र चिसोले जिल्लामा रुघाखोकीका बिरामी बढेकाले कोरोना भाइरस परीक्षण दायरा बढाउनुपर्ने स्वास्थ्यकर्मीको स्थानीयको सुझाव छ ।

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिन थालेका पछि स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको छ । त्यस्तै जिल्ला कारागार खाँदबारीले कोभिड सङ्क्रमण जोखिम बढ्दै गएपछि कैदीबन्दी भेटघाटलाई माघ १५ गते सम्म बन्द गरेको जिल्ला कारागारका जेलर विनोद अधिकारीले बताए ।

सोमबार, १० माघ, २०७८, साँझको ०६:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर