नोबेलको आन्दोलन स्थगित गर्न स्थानीय प्रशासनको निर्देशन, विद्यार्थीले नमान्ने

विराटनगर । नोबेल मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क मिनाहाको माग गर्दै आन्दोलनरत विद्यार्थी संगठनहरुलाई जिल्ला प्रशासन कार्यालय मोरङले आन्दोलनका कार्यक्रम स्थगन गर्न आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आइतबार उक्त निर्देशन जारी गरेका हुन् । ‘उपरोक्त विषयमा चालू आ.ब.मा एमबिबिएस मा भर्ना हुने विद्यार्थीहरुलाई नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगबाट निर्धारण भएको भन्दा बढी रकम लिएको विषयमा अनुसन्धान गरी कानून बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढिसकेको छ,’ उक्त निर्देशनमा भनिएको छ, ‘कोभिड १९ को तेस्रो भेरियन्ट ओमिक्रोनका कारण मोरङमा कोभिडको संक्रमण अत्याधिक बढेको, यस्तो अवस्थामा आन्दोलन गर्दा यसबाट कोभिड संक्रमणको जोखिम झन् बढ्न जाने देखिएकोले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरिदिन अनुरोध छ ।’

जिल्ला प्रशासन कार्यालयले उक्त निर्देशन आन्दोलनरत विभिन्न विद्यार्थी संगठनहरुलाई दिएको हो । प्रजिअ दाहालले गृहमन्त्रालय, चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालयलाई पनि उक्त परिपत्र बोधार्थ दिएका छन् ।

यता विद्यार्थी संगठनका नेताहरुले भने सुनिल शर्मालाई कारबाही नभएसम्म आन्दोलन नरोक्ने बताएका छन् । ‘जबसम्म मेडिकल माफियालाई कारबाही हुन्न, विद्यार्थीले न्याय पाउँदैनन्, तबसम्म आन्दोलन जारी रहन्छ,’ विद्यार्थी नेता ओसिम आलमले बताएका छन् ।

 

आइतबार, ०९ माघ, २०७८, साँझको ०५:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर