विराटनगर । मोरङमा श्रृङ्खलाबद्ध रूपमा बलात्कारको घटना बढेको छ । एक पछि अर्को गर्दै जिल्लामा बलत्कारको घटना बढेर गएको हो ।

शनिबार मोरङको सुनवर्षी नगरपालिका–७ मा शारीरिक रूपमा अपाङ्गता भएकी १७ वर्षीय किशोरी बलात्कारको शिकारमा परिन । घरमा कोही नभएको मौक्का पारि सोही ठाउँका २२ वर्षीय सुरेन्द्र ऋषिदेवले अपाङ्गता भएकी ती किशोरीलाई बलात्कार गरेको आरोप छ ।

परिवारका अरु सदस्य कोही नभएको बेला अपाङ्गता भएकी किशोरीको घरमा पुगेका सुरेन्द्रले जबरजस्ती भान्सा कोठामा लगेर दिउँसो साढे ३ बजेतिर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

किशोरी राम्ररी हिँडडुल गर्न र बोल्न सक्दिनन् । किशोरीमाथि जबरजस्ती गरिरहेको आमाले देखेपछि गाउँमा होहल्ला भएको थियो । होहल्ला हुन थालेपछि घटनामा संलग्न सुरेन्द्र फरार बनेका थिए । फरार भएका आरोपीलाई इलाका प्रहरी कार्यालय रंगेलीले पक्राउ गरि आइतबार जवरजस्ती करणी मुद्दामा मोरङ अदालतमा म्याद थप गरि अहिले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

४ मंसिरमा मोरङको कटहरी गाउँपालिका–७ की चार वर्षीय एक बालिकलाई घरदेखि करिब २ सय मिटर नजिकको लोहन्द्रा खोलामा बलत्कार गरेर ढुंङगाले हानेर आफलेको अवस्थामा अर्धचेत अवस्थालमा फेला परेकी थिइन् । भारतको अररीया घर भइ कटहरीमा बस्दै आएका २४ वर्षीय मुकेश सरदारले ती बालिकालाई बलत्कार गरेको आरोपमा सोही दिन पक्राउ परेका थिए । पक्राउ परेका सरकारले घरमा खेल्दै गरेको बालिकालाई कटहरी ७ मा रहेको लोहन्द्रा खोलामा लगेर राती जवरजस्ती करणाी गरेको मोरङ प्रहरीले जनाएको छ ।

घरमा कोही नभएको मोक्का छोपेर सरदारले ती बाकिललाई नजिकको खोलामा लगेर बलात्कार गरेपछि ढुंङगाले हानेर फरार भएका थिए । फरार भएका सरदारलाई प्रहरीले पक्राउ गरि जवरजस्ती करणी मुद्दामा चलाएको थियो । मोरङ अदालतको आदेशपछि उनी अहिले पुर्पक्षको लागि थुनामा छन् ।

चालु आर्थिक वर्षको मंसिर महिनासम्म मात्र मोरङमा ३३ वटा बलात्कारको मुद्दामा मोरङ अदालतमा दर्ता भएको छ । अधिकांश घटनामा नाबालिका तथा किशोरी बलात्कारको शिकारमा परेका छन् । बलात्कारको घटनामा नातामा आफन्त पर्नेहरूबाट पनि बलात्कारको घटनामा जोडिने गरेको भेटिएको छ । मोरङ प्रहरीको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा भएका बलात्कारका घटनामा ३० वर्षमुनिका बालिका र किशोरीहरू सबैभन्दा बढी बलात्कारको शिकारमा परेका छन् ।

तीन वर्षमा मोरङमा ३ सय २७ वटा बलात्कारको घटना भएको छ । सोही संख्यामा प्रहरीले मोरङ अदालतमा मुद्दा दर्ता गराएको अभिलेखले देखाएको छ । आर्थिक वर्ष २०७५/०७६ मा १ सय ७ वटा जवरजस्ती करणी मुद्दा दर्ता भएको मोरङ प्रहरीको तथ्याङकमा देखिन्छ । आर्थिक वर्ष ०७६/०७७ मा ९२ वटा मात्र बलात्कारको मुद्दा दर्ता भएकोमा ०७७/०७८ मा जिल्लामा जवरजस्ती करणीको घटना ह्वातै बढेको छ । ०७७/०७८ मा १ सय २८ वटा जवरजस्ती करणाीको मुद्दा अदालतमा दर्ता भएको मोरङ प्रहरीका डिएसपी मञ्जिल मुकारूङले जानकारी दिए ।

जिल्लामा बलात्कारका घटना बढ्ने कारणबारे कुनै निकायबाट खोजी भएको देखिँदैन । प्रहरी अनुसन्धानले अभिभावक सचेत नहुनु, बढ्दो आधुनिकता, फेसबुक, युट्युबजस्ता सामाजिक सञ्जालको प्रयोग र हातहातमा मोबाइल र इन्टरनेटलाई प्रमुख कारणका रूपमा लिएको छ । यस्तै, मदिरा सेवन तथा अश्लील फिल्मलगायत सामग्री हेर्ने लत पनि अर्को कारक भएको प्रहरीका अधिकारीहरु बताउँछन् ।

बलात्कारका घटना न्यूनीकरण गर्नको लागि जनचेतना मुलक कार्यक्रमहरु पनि संचालन गरेको मोरङ प्रहरीका डिएसपी मञ्जिल मुकारुङले बताए । प्रहरीले अवलम्बन गरिरहेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमले पनि यस्ता विकृति न्यूनीकरण गर्ने प्रयास गरिरहेको उनको भनाइ छ ।
‘मानवीय मूल्य र मान्यतासँगै नैतिकतामा पनि ह्रास आएकाले बलात्कारका घटना बढेको देखिन्छ’, उनले भने, ‘सामाजिक सञ्जालको बढ्दो दुरुपयोग पनि यसको कारक बनेको छ ।’ बलात्कारका घटना घरपरिवारकै सदस्यसँग जोडिएको उनले सुनाए बताए ।

बलात्कारजस्तो जघन्य अपराधका मुद्दामा न्याय पाउन असहज हुनु, आर्थिक र राजनीतिक चलखेलका कारण आरोपी सहजै छुट्नुलगायत कारणले पनि बलात्कार गर्ने प्रवृत्ति हाबी हुँदै गएको महिला अधिकारकर्मीको भनाइ छ । ‘बलात्कारका आरोपी छाडिँदै गए भने अपराधीको मनोबल बढेर झन् घटना हुन्छ’, महिला अधिकारकर्मी विष्णु शर्मा भन्छिन्, ‘न्याय सम्पादन गर्नेदेखि राज्य र समाजका हरेक संयन्त्र जिम्मेवार बन्नु जरुरी छ ।’ उनले गाउँस्तरमा सचेतनाका कार्यक्रम गर्न आवश्यक रहेको बताइन् ।

के छ कानुनी व्यवस्था ?

मुलुकी ऐनको महल १४ (जबरजस्ती करणीको महल) अनुसार कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरे वा १६ वर्षभन्दा कम उमेरकी किशोरीलाई निजको मञ्जुरी लिई वा नलिई करणी गरे जबरजस्ती करणी गरेको ठहरिनेछ । यसमा थप स्पष्ट पार्दै मुलुकी ऐन भन्छ, ‘डर, त्रास देखाई वा करकाप, अनुचित प्रभाव, झुक्यानमा पारी वा जोरजुलुम गरी वा अपहरण गरी, शरीर बन्धक राखी लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन ।’ यस्तै ‘होस् ठेगानमा नरहेको अवस्थामा लिइएको मञ्जुरीलाई पनि मञ्जुरी मानिने छैन ।’

१० वर्षमुनिकी बालिकालाई जबरजस्ती करणी गरेको ठहरिए १० देखि १५ वर्षसम्म, १० वर्ष वा सोभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिका पीडित भए ८ देखि १२ वर्षसम्म कैद हुने प्रावधान छ ।

१४ देखि १६ वर्षभन्दा कम उमेरकी बालिका भए ६ देखि १० वर्ष सम्म, १६ वर्षदेखि २० वर्षसम्म उमेर समूहकी महिला भए पीडकलाई ५ देखि ८ वर्षसम्म, २० भन्दा बढी उमेरकी महिलालाई जबरजस्ती करणी गरेको ठहरिए ५ देखि ७ वर्षसम्म कैद सजाय हुने प्रावधान छ । यसका अतिरिक्त हाडनाता करणी र कसैले गर्भवती, अशक्त, अपांगता भएका वा होस ठेगानमा नरहेका वा आफ्नो संरक्षणमा रहेकी महिलालाई करणी गरेको ठहरिए थप सजायको व्यवस्थासमेत गरिएको छ ।