विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ विराट चोकमा बुधबार राती आगो ताप्ने क्रममा झगडा हुँदा दुई युवाले ट्रक चालकको कान नै काटिदिएका छन् ।

प्रदेश १–००१ ख ८१८९ नम्बरको ट्रकका चालक मोरङको उर्लाबारी नगरपालिका–७ का ५२ वर्षीय वोधविक्रम मुखियाको देव्रे कान ती युवाहरुले काटिदिएका हुन् । कान काट्ने युवाहरुको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

मुखियाले सिमेन्ट लोड गरिएको ट्रक लिएर मोरङको बूढीगंगाबाट रंगेलीतर्फ जाँदै थिए । विराट चोकमा पुगेपछि राती ११ः२५ बजेतिर ट्रक पार्किङ गरेर उनी खाना खान नजिकैको होटलमा छिरेका थिए । त्यसपछि होटलअगाडि बालेको आगो तापिरहेका बेला दुई युवासँग भनाभन भएको थियो ।

ति युवाले मादक पदार्थ सेवन गरेको बताइएको छ । ‘भनाभनकै क्रममा ड्राइभरले आगो निभाइ दिएपछि युवाहरुले कान काटेर फरार भएका हुन्,’ स्थानीय युवाले भने । कान काटिएका चालकलाई विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचार गराइरहेको छ ।

अस्पताललाई उद्रित गर्दै प्रहरीले दिएको जानकारी अनुसार गम्भीर अवस्थाका घाइतेको आइसीयूमा उपचार भइरहेको छ । घाइते अवस्थाका उनी सामान्य मात्रै बोल्न सक्छन् ।