विराटनगर । विराटनगरमा जारी जुत्ता चप्पल मेलाको समय थप गरिएको छ । मेलामा उपभोक्ताको चासो बढ्दै गएपछि समय थप गरिएको आयोजकले जनाएको छ ।
पुस १ गतेदेखि पुस २९ गतेसम्म जारी रहेको मेलामा उपभोक्ताको आकर्षण बढ्दै गएपछि थप एक महिनाका लागि मेलाको समय थप गरिएको मेला आयोजकको भनाइ छ ।
जुत्ताचप्पल व्यापार मेलामा दैनिक चार हजार जोर जुत्ताचप्पल विक्री भएको छ । विराटनगरको धरान–विराटनगर सडकखण्डको भाटभटेनी सुपरमार्केटसँगै दक्षिणतर्फ रहेको क्षेत्रमा यतिबेला जुत्ताचप्पल व्यापार मेला चलिरहेको छ । जुत्ताचप्पल व्यापार मेलामा तीन वटा जुत्ताचप्पल उत्पादक कम्पनीमा उत्पादन वेच्न राखिएको आयोजकले जनाएको छ । नेपाली जुत्ताचप्पल उत्पादनमा ५५ हजार श्रमिक कार्यरत रहेको नेपाल फुटवेयर म्यानुप्याक्चरर्स एसोशिएशन अफ नेपालले जनाएको छ ।
फुटवेयर म्यानुप्याक्चरर्स एसोशिएशन अफ नेपालका अनुसार नेपालमा १२ वटा कम्पनीले चुत्ताचप्पलको उत्पादन गर्दै आएको भएपनि विराटनगरमा जारी मेलामा भने हाइलाफइ‚ शिखर र युनाइटेड रियल लेदर कम्पनीले २ सयभन्दा बढी मोडलका जुत्ताचप्पल विक्री गरिरहेका छन् ।
नेपालमा वार्षिक ९ करोड जोर जुत्ताचप्पलको माग हुने गरेको फुटवेयर म्यानुप्याक्चरर्स एसोशिएशन अफ नेपालले जनाएको छ । विराटनगरमा जारी जुत्ताचप्पल मेलामा उपभोक्तामा चासो बढ्दै गएको मेला आयोजक समितिले जनाएको छ ।
मेलामा गुणस्तरीय र आधुनिक प्रविधिबाट निर्मित जुत्ताचप्पलको विक्री भइरहेको युनाइटेड रियल लेदर सुज उद्योगका बजार अधिकृत सुरज प्रधानले बताए । जुत्ताचप्पल व्यापार मेलामा १० देखि ६० प्रतिशत छुटको व्यवस्था गरिएको छ । नेपालमा उत्पादन गरिएका जुत्ता नेपाली माटो सुहाउँदो र पर्यावरणीय अवस्थालाई मध्यनजर गरी निर्माण गरिने भएकाले विदेशी जुत्ताचप्पल भन्दा सस्तो र बलियो हुने मेला आयोजकको भनाइ छ ।
देशकै तीन ठूला जुत्ता चप्पल कम्पनीले मेलामा १० देखि ६० प्रतिशत छुटमा २ सय भन्दा बढी मोडलका जुत्ता चप्पल विक्री गरीरहेका छन् ।

