प्रदेश १ मा कोभिड संक्रमण तीब्र, बिरामीको संख्या पाँच दिनमै दोब्बर

विराटनगर । कोरोना भाइरसको संक्रमण बढेसँगै प्रदेश १ मा उपचारका लागि अस्पताल भर्ना हुने बिरामीको संख्यापनि बढ्न थालेको छ । पछिल्लो पाँचदिनमा उपचारका लागि अस्पताल भर्ना हुने संक्रमितको संख्या दोब्दर भन्दा बढीले वृद्धि भएको छ ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पुस ३० गते अस्पतालमा भएको संख्याको तुलनामा माघ ४ गते अस्पतालमा भर्ना भएर उपचार गराउनेको संख्या दोब्बर बढीले वृद्धि भएको हो । पुस ३० गते प्रदेश १ का विभिन्न अस्पताहरुमा २३ जना संक्रमितहरु उपचारका लागि भर्ना भएका थिए । पुस ४ गते त्यो संख्या बढेर ५६ जना पुगेको छ ।

अस्पतालमा उपचार गराउनेको संख्या बढेसँगै आइसियु, एचडियू र भेन्टिलेटरमा राखेर उपचार गराउने संक्रमितहरुको संख्यापनि बढेको पाइएको छ । पुस ३० गते सार्वजनिक भएको विवरणमा उपचाररत २३ जनामध्ये भेन्टिलेटरमा चार जना थिए । माघ ४ गते ८ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेको विवरण मन्त्रालयले सार्वजनिक गरेको छ । पाँच दिनको अवधिमा भेन्टिलेरमा राखेर उपचार गर्नुपर्ने बिरामी दोब्बरले बढेको पाइएको हो ।

मंगलबारसम्म प्रदेश १ का विभिन्न १० वटा अस्पतालहरुमा कोभिडका बिरामी भर्ना भएर उपचार गराइरहेको पाइएको छ । सबैभन्दा धेरै विराटनगर स्थित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा १९ जना उपचाररत छन् । विराटमा १८ जनाको उपचार एचडियूमा राखेर भइरहेको छ भने एकजनालाई आइसियूमा राखिएको छ । प्रदेश सरकारले स्थापना गरेको कोसी कोभिड अस्पतालमा १३ जनाको उपचार भइरहेको छ । उपचाररत १३ जनामध्ये १२ जना आइसियूमा र एकजना भेन्टिलेटरमा छन् । धरानके वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ जनाको उपचार भइरहेको छ ।

उपचाररत ११ जनामध्ये ८ जना भेन्टिलेरमा छन् भने चार जना एचडियूमा छन् । यस्तै झापाको मेची अस्पताल, बिर्तामोडको बि एण्ड सी अस्पताल, बिर्तासिटी अस्पताल र आम्दा अस्पतालमा दुई/दुई जनाका दरले संक्रमणमा परेका बिरामी उपचारका लागि भर्ना भएका छन् । यस्तै सोलुखुम्बुमा ३ जना, ओखलढुंगा अस्पतालमा एक जना र उदयपुर अस्पतालमा एक जना गरी मंगलबार अपरान्हसम्म प्रदेश १ मा ५६ जना बिरामी अस्पताल भर्ना भएर उपचार गराइरहेको पाइएको हो ।

पछिल्लो पाँच दिनमा प्रदेश १ मा संक्रमितको संख्या पनि दोब्बरले बढेको छ । पुस ३० गते प्रदेश १ मा ३७९ जना थप व्यक्तिहरुमा संक्रमण पुष्टि भएकोमा माघ ४ गते १ हजार ७१ जनामा थप संक्रमण पुष्टि भएको छ । प्रदेश सरकारले कोरोना संक्रमण दर बढ्दै गएको अवस्थामा उपचारका लागि प्रदेशभरका अस्पतालहरुमा ९६९ शय्याहरु तयारी अवस्थामा राखेको छ । जसमा १०७ शय्या भेन्टिलेटर, ११८ शय्या आइसियू, ३०९ एचडियू र २४४ आइसोलेशन शय्याको प्रवन्ध गरिएको छ ।

मंगलबार अपरान्हसम्म प्रदेश १ मा ३ हजार ६७ जना सक्रिय संक्रमितहरु रहेको पुष्टि भएको छ । जसमा अस्पतालमा उपचाररत ५६ जना बाहेक सबै होम आइसोलेसनमा घरमै बसेर उपचार गराइरहेका छन् । सामाजिक विकास मन्त्रालयका कोभिड १९ तथ्यांक शाखाका संयोजक डा. रविन्द्र निरौलाले दैनिक रुपमा संक्रमितको संख्या बढेसँगै अस्पताल भर्ना हुने दरपनि बढिरहेको पाइएको जानकारी दिएका छन् । उनले संक्रमणको तुलनामा भने अस्पताल भर्ना भएर उपचार सेवा लिनेहरु न्यूनमात्र बढेको यस अवधिमा देखिएको बताए ।

बुधबार, ०५ माघ, २०७८, दिउँसोको ०१:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर