कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–६ मूलगाउँस्थित कृषि सडकको कालोपत्रे उप्किएको ठाउँमा फेरि कालोपत्रे गरिने भएको छ ।

आइतबार गाउँपालिकाकी उपाध्यक्ष तथा अनुगमन समितिको संयोजक राजमती इङ्नाम, प्रमुख प्रशासकीय अधिकृत गायत्र श्रेष्ठ, वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेत र इन्जिनियर रञ्जन निरौलासहितको टोलीले सडक अनुगमन गरेपछि कालोपत्रे गर्न निर्देशन दिएको हो ।

उपाध्यक्ष इङ्नामले ठेक्का लागेको ५ महिनापछि सडक कालोपत्रे थालेर ठेकेदारले ढिलासुस्ती गरेकाले पनि समस्या आएको बताइन् । उनले स्टिमेटअनुसार नै काम हुनुपर्ने बताएकी छन् । सडकको पिङडाँडा चोकमा गरिएको कालोपत्रे पनि यस्तै समस्या आएर ४० मिटरसम्म भत्काएर पुनः कालोपत्रे गरिएको थियो । इन्जिनियर रञ्जन निरौलाले कालोपत्रे गरिएको सडकमा उप्काउँदा बेससहित सबै उप्किने भएकाले सडक मापदण्डअनुसार गुणस्तरीय नै बनेको दाबी गरे । अनुगमनको क्रममा कालोपत्रे खनेर नापजाँच गरिएको थियो ।

नाप्ने क्रममा बेस ६ इन्च राख्नुपर्नेमा ७ इन्चसम्म पुगेको र थिकनेस ३० एमएमभन्दा बढी नै रहेको पाइएको निरौलाको भनाइ छ । त्यसैगरी चौडाइ ५ मिटर पुगेको थियो । कमसल काम भएको भए छुँदै बुरुरु निस्किनुपर्नेमा पिच गर्नेबित्तिकै उप्काएर यस्तो समस्या आएको उनको भनाइ छ ।

पुस २३ गते रतुवामाई नगरपालिकामा रहेको वीर निर्माण सेवाले तत्काल पौडेल चौकदेखि खड्ग श्रेष्ठको घरसम्म करिब २ सय मिटर पिच गरेको थियो । भोलिपल्ट बिहान स्थानीयले खड्ग श्रेष्ठको घरछेउको होमपाइप जडान गरेको ठाउँमा पिच उप्काउँदा सजिलै उप्किएपछि कमजोर काम भएको भन्दै आलोचना भएको थियो ।

सडकको बेस निर्माणमा कमसल कच्चापदार्थ बढी मात्रामा प्रयोग गरेको तथा रोलरको कम प्रयोग गरेका कारण समस्या देखिएको स्थानीयको भनाइ छ । सडक निर्माणको काम सम्पन्न भएर गाउँपालिकालाई हस्तान्तरण गरेको १३ महिनासम्म पनि कुनै ठाउँमा खराबी आए ठेकेदारले पुनः मर्मतको काम गर्नुपर्ने सम्झौता छ ।

पौडेल चौकदेखि पिङडाँडासम्म १.७ किलोमिटर सडक निर्माण गर्नका लागि ९६ लाख ४६ हजार रुपैयाँमा वीर निर्माण सेवाले ठेक्का पाएको छ । सङ्घीय सरकारबाट आएको अनुदान र कानेपोखरी गाउँपालिकाको बजेटमा सडक निर्माण भएको हो ।