नेपाल बंगलादेश बैंक नबिलमा गाभ्ने सम्झौता

विराटनगर । मुलुककै नम्बर वान बैंकको रुपमा परिचित नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्नका लागि प्रारम्भिक सम्झौता गरेको छ।

प्रतिसेयर ४३ रुपैयाँका दरले नबिलले नेपाल बंगलादेशलाई गाभ्ने भएको हो।

मर्जरका लागि नबिल बैंकका तर्फबाट मर्जर समितिका संयोजक उदयकृष्ण उपाध्याय र नेपाल बंगलादेश बैंकको तर्फबाट इन्द्रबहादुर थापाले बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। दुबै संस्थाबीच मर्जरको पहल डेढ बर्षअघिबाटै भएकोमा अहिले प्रक्रिया अगाडि बढेको हो ।

नेपाल बंगलादेश बैंकमा रहेको ढाकाको आइएफआइसी बैंकको ४१ प्रतिशत सेयर स्वामित्व नबिल बैंकका मूख्य लगानीकर्ता विनोदकुमार चौधरीकी श्रीमती सारिका चौधरीले खरीद गर्ने टुङ्गो लागेपछि मर्जरको औपचारिक सहमति बनेको हो । उक्त शेयर मर्जरपछि मात्र नामसारी हुनेछ ।

बिहीबार दिउँसो दुबै बैंकको सञ्चालक समितिले सेयर आदानप्रदान अनुपात टुङ्ग्याएको थियो। यसअघि संयुक्त मर्जर समितिले अनुपात ४३ रुपैयाँ तय गरेको थियो। त्यो मूल्यलाई अनुमोदन गर्दै मर्जरको सम्झौता गर्ने निर्णय भएको हो ।

नबिल बैंकको अहिले चुक्ता पुँजी १३ अर्ब ८४ करोड रुपैयाँ छ। बैंकको शुक्रबारको साधारणसभाले ३३.६ प्रतिशत बोनस सेयर अनुमोदन गरेपछि चुक्ता पुँजी १८ अर्ब ४९ करोड रुपैयाँ पुग्नेछ। यस्तै नेपाल बंगलादेश बैंकको चुक्ता पुँजी ९ अर्ब ४ करोड रुपैयाँ छ। बैंकको साधारणसभाले १२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव अनुमोदन गरिसकेकोले उसको चुक्ता पुँजी १० अर्ब ८ करोड रुपैयाँ पुग्नेछ।

नेपाल बंगालादेश बैंक गाभिएपछि नबिलको चुक्ता पुँजीमा ४ अर्ब २३ करोड रुपैयाँ थपिएर उसको चुक्ता पुँजी २२ अर्ब ७३ करोड रुपैयाँ पुग्नेछ। पुँजी बाहेक नबिलको जगेडा कोषमा सेयर आदानप्रदान अनुपातबाट जोगिने ५ अर्ब ८४ करोड रुपैयाँ जानेछ। नेपाल बंगलादेश बैंकको जगेडा कोषमा ६ अर्ब ७४ करोड रुपैयाँ पनि गएपछि नबिल बैकको जगेडा कोष ३२ अर्ब ९९ करोड रुपैयाँको हुनेछ।

चुक्ता पुँजी २२ अर्ब ७३ करोड रुपैयाँ जोड्दा नयाँ बैकको पुँजी कोष ५५ अर्ब ७२ करोड रुपैयाँको हुनेछ।

एक्विजेशनपछि बैंकले नबिल बैंककै नाममा कारोबार गर्नेछ । एनबी बैंकको एक सय कित्ता बराबर ४३ कित्ता हुने गरेर स्वाप रेसियो निर्धारण गरिएको छ । सम्पत्ति र दायित्वको मूल्यांकनमा १० प्रतिशत तलमाथि भएपनि त्यही स्वाप अनुपात कायम गर्ने सहमति भएको छ ।

बिहिबार, २९ पुष, २०७८, रातीको ०८:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर