विराटनगर । प्रदेश १ सामाजिक विकास मन्त्री जयराम यादवले सहकारीले संस्कार सिकाउनु पर्नेमा जोड दिएका छन् । उनले सहकारीले बचत मात्र नभएर संस्कार पनि सिकाउनु पर्ने बताए ।

जिल्ला सहकारी संघ मोरङको २९ औं साधारण सभाको आज भएको उद्घाटन कार्यक्रममा मन्त्री यादवले सो कुरा बताएका हुन् । सहकारी विपन्न वर्गका लागि साहारा भएको उनको भनाइ छ ।

मन्त्री यादवले सहकारीमा महिलाको सहभागिता उल्लेख्य देखिएपनि नेतृत्व तहमा पुग्नेको संख्या कम देखिएको बताए । ‘सहकारीमा महिलाको सहभागिता ५२ प्रतिशत देखिए पनि नेतृत्वमा पुग्ने महिलाको संख्या न्यून छ,’ उनले भने । मन्त्री यादवले सहभागिता र नेतृत्वमा तालमेल नमिलेको देखिएको बताए । सहभागिताका आधारमा नेतृत्वमा पुग्न महिला सहकारीकर्मीलाई उनले आग्रह गरे ।

साधारणसभामा प्रतिनिधिसभा सदस्य तथा सहकारी अभियान्ता घनश्याम खतिवडा, संविधानसभा सदस्य तथा जिल्ला संघकी सल्लाहकार तारादेवी राई, राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेल, जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेल लगायतले बोलेका थिए ।