विराटनगर । मोरङको जहदा गाउँपालिका भित्र रहेको बाल विकास केन्द्रमा अध्ययन गराउँदै आएका शिक्षकहरुले एक हप्तादेखि गर्दै आएको आन्दोलन स्थगित गरेका छन् ।
विकास केन्द्रमा अध्ययन गराउने शिक्षकहरुको वृद्धि भएको तलब आगमी आर्थिक वर्षको बजेटबाट गाउँपालिकाले दिने प्रतिवद्धता जनाएपछि शिक्षकहरुले गर्दै आएको आन्दोलनका सम्पूर्ण कार्यक्रम बिहीबारदेखि स्थगित गरेका हुन् ।
बाल विकास केन्द्रमा अध्ययन गराउने शिक्षक र कर्मचारीहरुको तलब चालु आर्थिक वर्षदेखि बढाउनुपर्ने माग राख्दै आएका थिए । संघिय सरकारले मासिक ८ हजार र गाउँपाकिाले ७ हजार शिक्षकले पाउनुपर्ने यहाँका बाल विकास केन्द्रका शिक्षक र कर्मचारीहरुको माग थियो । तर, साउनदेखि यहाँका शिक्षकले संघिय सरकारले पठाएको मात्र तलब पाउँदै आएका थिए । १४ पुसदेखि नेपाल शिक्षक महासंघ जहदाको अगुवाइमा शिक्षकहरु आन्दोलनमा उत्रिएपछि आगमी आर्थिक वर्षदेखि बजेट बिनायोजन गरि चालु आर्थिक वर्षको साउनदेखि पुस गरि ६ महिनासम्मको तलब गाउँपालिकाले आगमी आर्थिक वर्षको बजेटबाट दिने भएपछि सहमति गरेका हुन् ।
कर्मचारीसँग सहमति भएपछि शिक्षकहरुले सम्पूर्ण आन्दोलनको कार्यक्रम स्थगित गरेर शुक्रबारदेखि काममा फर्किने भएको जहदा गाउँपालिका अध्यक्ष कैलाश प्रसाद मण्डलले जानकारी दिए । जहदामा १ सय ८ जना बाल विकास केन्द्रमा अध्ययरत गराउने शिक्षक, कर्मचारीहरु रहेका छन् ।
बिहीबार गाउँपालिका कार्यालयमा बसेको बार्तामा अध्यक्ष कैलाश प्रसाद मण्डल, उपाध्यक्ष शालो साह, प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे र शिक्षक महासंघका पदाधिकारी र बाल विकास केन्द्रका शिक्षक कर्मचारीहरुको सहभागिता रहेको थियो ।