दुहबी । ‘दुहवीको शान, हाम्रो मान’ भन्दै ग्रामिण अर्थतन्त्रलाई टेवा पु¥याउने उद्देश्यसहित सुनसरीको दुहवीमा फरवार्ड सुपरमार्केट सञ्चालनमा आएको छ । फरवार्ड इन्टरप्राइजेजद्वारा सञ्चालित फरवार्ड सुपरमार्केटको कम्पनीकी अध्यक्षसमेत रहेकी पूर्वराज्यमन्त्री भगवती चौधरीले शुभारम्भ गरेकी छन् ।

दुहवी क्षेत्रको आर्थिक, सामाजिक विकास र ग्रामिण उत्पादनलाई व्यवसायीकरण गर्ने उद्देश्यले फरवार्ड सुपरमार्केट शुरु गरिएको चौधरीले बताएकी छन् । स्थानीयद्वारा उत्पादित वस्तुहरुलाई बजारीकरण गर्ने तथा उनीहरुलाई आवश्यक दैनिक उपभोग्य वस्तुहरु सर्वसुलभ मुल्यमा प्रदान गर्ने उद्देश्य रहेको उनको भनाइ छ ।

फरवार्ड सुपरमार्केटले यहाँका जनताको लाइफ स्टायललाई पनि परिवर्तन गर्न सहयोग गर्ने चौधरीको दाबी छ । सुपरमार्केटको शुभारम्भसँगै अन्य व्यवसायीहरुलाई दुहवीमा ठूला र एकीकृत व्यवसाय गर्न सकिन्छ भन्ने अभिप्रेरणा पनि दिने उनको भनाइ छ । आफूहरुले स्थानीय व्यवसायीहरुलाई होलसेल सामानसमेत दिने उनले बताएकी छन् ।

चौधरीले फरवार्ड माइक्रोफाइनान्समार्फत लाखौं महिलालाई गोलबद्ध गर्दै वित्तीय संस्था चलाइरहेकी छन् । कार्यक्रममा दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले फरवार्ड सुपरमार्केटले स्थानीय क्षेत्रको अर्थतन्त्र सुधार्न सहयोग पुग्ने तथा छरिएर रहेका व्यवसायहरुलाई पनि एकीकृत रुपमा सञ्चालन गर्न अभिप्रेरित गर्ने बताए ।

फरवार्ड इन्टरप्राइजेजका म्यानेजिङ डाइरेक्टर द्रव्यराज चौधरीले फरवार्ड सुपरमार्केटमा १५ हजार बढी सामानहरु रहेको जनाउँदै अब दुहवीबासीले कुनैपनि सामान खरिद गर्न इटहरी, विराटनगर तथा जोगवनीसम्म जान नपर्ने बताए । एक्सिलेटर, लिफ्ट तथा एसी सुविधायुक्त सुपरमार्केट करिव २० करोडको लगानीमा सञ्चालनमा आएको हो ।

सुपरमार्केटमा खाद्यान्न, लत्ताकपडा, महिला पुरुषकालागि आकर्षक जुत्ताचप्पल, ब्याग, एलजी, स्काईवर्थ, खैतान जस्ता कम्पनीका टिभी, फ्रिज, माइक्रोओभन, हिटर, भ्याकुम क्लिनर, राइसकुकर, वासिङ मेसिन लगायत अत्यावश्यक घरायसी सामानहरु पाइन्छ । सुपरमार्केटले स्थानीय उत्पादनलाई प्राथमिकता दिने बताइएको छ ।

फरवार्ड सुपरमार्केटको ओपनिङको अफरमा बम्पर उपहार योजना ल्याइएको छ । कम्पनीले पौष १७ गतेदेखि २३ गतेसम्मका लागि ३० प्रतिशतसम्म छुट दिएको छ । भने, प्रत्येक दिन लक्की ड्रमार्फत उपहार योजना ल्याएको जनाएको छ ।