संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका –३ माक्सुवा स्थित देवकोटा आधारभुत विद्यालयमा दिवा खाजाको रकममा अनियमितता देखिएको छ ।
विद्यार्थीको दिवा खाजा कार्यक्रम बापतको रकममा अनियमितता देखिएको हो । कक्षा ५ सम्मका ९५ जना विद्यार्थीलाई खुवाउँदै आएको दिवा खाजा कार्यक्रम बापतको रकममा अनियमितता देखिएको हो ।
पाँचखपनको देवकोटा आधारभुत विद्यालयमा गत वर्ष ०७७ मंसिर १६ गतेदेखि दिवा खाजा कार्यक्रम सुरु भएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दानबहादुर वैद्यका अनुसार दिवा खाजाको कार्यक्रमको रकम विद्यालयका प्रधानाध्यापक दलमर्दन तिवारीले रकममा अनियमितता गरेका हुन् ।
प्रअ तिवारीले नगरपालिकाबाट भुक्तानी लिएर खाजाको रकम कट्टी गरेर आफैले राखेको अध्यक्ष वैद्यले बताए । स्थानीय मिलनकुमारी आले मगरले सो विद्यालयका विद्यार्थीलाई दिवा खाजा खुवाउँदै आएकी छन् । उनले विद्यालयका विद्यार्थीलाई२ ०७८ वैशाख १७ गतेसम्म दिवा खाजा खुवाएकी छन् ।
खाजाबापत मगरले पहिलो पटक ४० हजार ९५७ रुपैयाँ र अर्को पटक ८२ हजार १०५ रुपैयाँ गरि जम्मा १ लाख २३ हजार ६२ रुपैयाँ तत्कालीन प्रधानाध्यापक दलमर्दन तिवारीमार्फत भुक्तानी लिएको देखिएको छ । तर, प्रधानाध्यापक तिवारीले दिवाखाजा कार्यक्रम अन्तर्गत पाँचखपन नगरपालिकाबाट एकमुष्ट १ लाख ४० हजार ६७० रुपैयाँ भुक्तानी लिएका थिए ।
यस्तै दिवा खाजा कार्यक्रमको पहिलो त्रैमासिक रकम भुक्तानीमा १.५ प्रतिशतले कर कट्टी गरिएको छ । तर, कोष तथा लेखा नियन्त्रक खाँदबारीमा बुझ्दा कर कट्टी गर्न नमिल्ने बुझिएपछि पछिल्लो भुक्तानीहरुमा कर कट्टी नगरिएको पाँचखपन नगर शिक्षा प्रमुख इन्द्र कार्कीले बताए ।