सप्तकोशी बैंक घोटला प्रकरण : सिइओसहित चार कर्मचारीको म्याद थप

सप्तकोशी बैंक घोटला प्रकरण : सिइओसहित चार कर्मचारीको म्याद थप

विराटनगर । विराटनगरस्थित सप्तकोशी डेभलपमेन्ट बैंकको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ घोटाला गरेको आरोपमा पक्राउ परेका बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) नविन सुवेदीसहित चार कर्मचारीमाथि प्रहरीले ‘बैंकिङ कसुर’ अपराधमा अनुसन्धान थालेको छ ।

मोरङ प्रहरीले शुक्रबार उच्च अदालत विराटनगरमा बैंकिङ कसुरमा ५ दिनको पहिलो पटक म्याद थप गरी उनीहरुमाथि अनुसन्धान सुरु गरेको हो ।

प्रहरीले बैंकिङ कसुरमा ६० दिनसम्म न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी प्रावधान छ । प्रहरीले बुधबार बैंकका सिइओ सुवेदीसहित लेखा वित्त प्रमुख देविप्रसाद भण्डारी र अपरेसन प्रमुख अमित थापा मगरलाई पक्राउ गरेको थियो । यस्तै बैंकका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराई मंसिर १९ गते नै पक्राउ परेका थिए ।

पक्राउ परेका भट्टराईलाई अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान गर्दै आएको प्रहरीले बुधबार उक्त मुद्दा जिल्ला प्रशासन कार्यालय मोरङमा बुझाएर बैंकिङ कसुरमा अनुसन्धान थालेको हो । बैकबाट गायब रकममध्ये अधिकांश रकम प्रमुख कार्यकारी अधिकृतकै आफन्तको खातामा जम्मा भएको पाइएपछि उनी पक्राउ परेका हुन् ।

धनकुटा प्रधान कार्यालय भएको सप्तकोशी डेभलपमेन्ट बैंकको विराटनगरस्थित कर्पाेरेट कार्यालयबाट रेमिट्यान्सको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ हिनामिना भएको अनुसन्धानबाट खुलेको छ । यति ठुलो रकम पछिल्लो ६ वर्षयता हिनामिना हुँदा बैंक बेखबर देखिएको र प्रमुख कार्यकारी अधिकृतकै आफन्तको खातामा अधिकांश पैसा ‘ट्रान्सफर’ भएको देखिएकोले बैंकका सिईओको यस प्रकरणमा संलग्नता भएको देखिएको प्रहरीको भनाइ छ ।

बैंक तथा वित्तीय संस्थाहरूलाई नियमन केन्द्रीय बैंकले गर्छ । बैंकिङ कसुर तथा सजाय ऐन–२०६४ अनुसार बैंकिङ कसुर गर्न अप्रत्यक्ष रूपमा संलग्न व्यक्ति वा संस्थाका पदाधिकारीलाई मतियार घोषित गरी कसुरदारलाई हुने सजायको आधा सजाय हुन्छ । बैंकिङ कसुरमा संलग्न बैंक तथा वित्तीय संस्थाका पदाधिकारीलाई थप सजाय हुने व्यवस्था छ ।

बैकिङ कसुरमा १ अर्ब रुपैयाँभन्दा बढी कसुर गर्नेलाई १२ वर्षसम्म, ५० करोडदेखि १ अर्ब रुपैयाँसम्म कसुर गर्नेलाई ८ देखि १० वर्ष र १० करोडदेखि ५० करोड रुपैयाँ कसुर गर्नेलाई ६ देखि ८ वर्ष कैद सजाय हुने कानुनी व्यवस्था रहेको छ । पक्राउ परेकाहरुमाथिको आरोप पुष्टि भएमा उनीहरु ६ देखि ८ वर्षसम्म जेल सजाय हुने बताइन्छ ।

सप्तकोशीको हिनामिना भएको रकममध्ये धेरै सिईओ सुवेदीका आफन्त बबिता सुवेदीको खातामा १४ करोड र हिमाल भट्टराईको विभिन्न ५ वटा बैंकको खातामा एक करोड रुपैंया जम्मा भएको देखिएको बताइन्छ । प्रदेश १ को ७ जिल्लामा ३६ वटा शाखा कार्यालय रहेको बैंकको ४ अर्ब ३० करोड रुपैयाँ निक्षेप छ ।

साबिकको कबेली विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक मर्जरमा गएर हाल सप्तकोशी डेभलपमेन्ट बैंक लि.नामबाट वित्तीय कारोबार गरिरहेको यो बैंक नेपाल राष्ट्र बैङ्कबाट इजाजत पत्र प्राप्त ‘ख’ वर्गको वित्तीय संस्था हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्