विराटनगर । दृष्टिबिहीन मोरङको कटहरी गाउँपालिका २ आदर्श टोलका ४ वर्षीय कृष्ण र उनका दाजु ७ वर्षीय लल्कु मरिक तथा उनीहरुका दिदी बहिनीलाई दयालुहरुले सहयोग गरेका छन् ।
उनीहरुको दयनीय अवस्थाको समाचार हाम्रोमतमा प्रकाशित भएपछि विराटनगरका केही मनकारीहरुले उनीहरुले लगाउने न्यानो कपडा, ओड्ने कम्बल र ५० केजी चामल सहयोग गरेका हुन् ।
मनकारीहरुले उपलब्ध गराएको न्यानो कपडा र चामल शनिबार हाम्रोमत दैनिकको टोली कृष्ण र लल्कु अनि उनीहरुका दिदीबहिनी ८ वर्षीया सुलेखा र ६ वर्षीया काजललाई घरमै पुगेर प्रदान गरे ।
जातले दलिएका अनि भाग्यले ठगिएका दृष्टिबिहीन बालक लल्कु र कृष्णको अवस्थाको समाचार २९ मंसिर २०७८ मा हाम्रोमत दैनिकमा पत्रकार स्मृति तिम्सिनाको वाइलाइनमा प्रथम पृष्ठमा प्रकाशित भएको थियो ।
भूमिहीन गरिब मात्र नभएर सबैले हेलाहोचो गर्ने फोहोर र चर्पी सरसफाई गर्ने ‘महादलित’ समुदाय भनिने मरिक थरका बाबुआमाबाट जन्मिएका भाइ कृष्ण र दाजु लल्कु जन्मदै दृष्टिबिहीन छन् । उनीहरु दृष्टिबिहीन मात्र छैनन् आँखामा घिनलाग्दो घाउ भएकोले सबैले छिछी र दुरदुर पनि गर्छन् । गरिबीले गर्दा उनीहरुको आँखाको उपचार हुन सकेको छैन । उनीहरुकै कारण दिदीबहिनीहरुले पनि पढ्न पाएका छैनन् । कृष्ण र लल्कुका आमा निर्मला र बाबु छोटु विराटनगरमा सफाई मजदुरको काम गर्छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।