विराटनगर । नेकपा एमाले मोरङको ९ औं जिल्ला अधिवेशनमा १ हजार ३ सय प्रतिनिधि सहभागी हुने भएका छन् ।
पुस २३ गते विराटनगरमा हुने जिल्ला अधिवेशनमा १७ स्थानीय तहका १५९ वटै वडाहरुबाट १ हजार ३ सय प्रतिनिधि सहभागी हुने पार्टीले जानकारी दिएको छ ।
सम्मेलन प्रचारप्रसार उपसमितिका संयोजक रुपेश खतिवडाका अनुसार सम्मेलनमा पार्टी जिल्ला कमिटी, जिल्ला लेखा आयोग र निर्वाचन आयोगका सम्पूर्ण सदस्यहरु आयोजकका रुपमा प्रतिनिधि रहनेछन् । यस्तै जिल्ला सल्लाहकार परिषद र जिल्ला जेष्ठ कम्युनिष्ट मञ्चबाट १०/१० जना, जनसंगठनहरुबाट जिल्ला स्तरमा ५/५ जना, मजदुरका सम्पूर्ण शाखा र ट्रेड युनियन महासंघबाट २१ जना, मोरङ–काठमाडौं सम्पर्क मञ्चबाट ५ जना, पिछडा वर्ग महासंघ (ओबिसी) बाट ५ जना, दलित पार्टी सदस्यहरुको भेलाबाट २५ जना बराबर १ प्रतिनिधि छनोट हुनेछन् ।
जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि मोरङमा रहेका करिब ३५ हजार पार्टी सदस्यहरु प्रत्येकबाट ५०–५० का दरले अधिवेशन सहयोग रकम संकलन गरिने एमालेले जनाएको छ । यस्तै प्रतिनिधिहरुबाट ५ सय र आयोजकबाट १ हजार रुपैयाँ शुल्क लिने खतिवडाले बताए ।
पुस २३ र २४ गते विराटनगरमा हुने अधिवेशनमा लोकतन्त्रको उच्चतम प्रयोग गरिने एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिएका छन् । सम्मेलनबाट नेतृत्व चयनको लागि सर्वसम्मत गराउने पहल गर्ने र संभव नभए निर्वाचन प्रक्रियाबाट ३३ प्रतिशत महिलासहित १६५ सदस्यीय जिल्ला कमिटी चयन गरिने उनको भनाइ छ ।