विराटनगर । उद्योग संगठन मोरङको पहलमा उद्योग व्यवसायका समस्याहरूको समाधान गर्ने सेवाको रुपमा सिआइएम विजनेस क्लिनिक कार्यान्वयनमा आएको छ ।
विजनेश क्लिनिकमा हालसम्म संकलन गरिएका सदस्य उद्योग प्रतिष्ठानका १०४ वटा विभिन्न क्षेत्र तथा विषयसँग सम्बन्धीत समस्याहरू प्रस्तुत गरेसँगै क्लिनिक कार्यान्वयनमा आएको हो ।
क्लिनिकमा संकलित सदस्य उद्योग प्रतिष्ठानहरू समस्या समाधानको सहजीकरणका लागी उद्योग मन्त्रालयमा सम्पर्क समन्वय बिन्दु तोक्नुका साथै हरेक तिन तिन महिनामा संगठन र मन्त्रालयबीच सहजीकरण बैठक तथा समीक्षा बैठक गर्ने समझदारी भएको संगठनका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए । गतसाता काठमाडौंमा संगठनको प्रतिनिधिमण्डलले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल र मन्त्रालयको टिम समक्ष क्लिनिक संचालनका लागि पहल गरेको थियो ।
संगठनले सदस्य उद्योग प्रतिष्ठानका समस्याहरू संकलन गर्न सदस्य प्रतिष्ठानमा प्रत्यक्ष भ्रमण गर्न उद्योग भ्रमण कार्यक्रम नै सञ्चालन गरिरहेको छ । समस्याहरूलाई कार्यान्वयन तहका, नीतिगत तहका, उद्योग विशेष वा साझा समस्या तथा उर्जा, कर, राजश्व, श्रम, भन्सार, निर्यात आयात, बैंक तथा वित्तिय क्षेत्र, स्थानीय सरकार जस्ता विषयहरूमा वर्गीकरण गरिने छ । सोही आधारमा समस्याको समाधानका लागि सरकारी निकायमा पहल र प्रयत्न गर्न उद्योग मन्त्रालयमा फोकल बिन्दु तोकिएको छ । अब उद्योगी व्यवसायीहरूका समस्याहरूको एकै स्थानबाट समाधानका लागी पहल र प्रयत्न गर्न सहज हुने अध्यक्ष प्याकुरेलले जानकारी दिए ।
संगठनको वार्षिक रणनीतिक कार्ययोजना अनुरुप सदस्य उद्योग प्रतिष्ठानहरूको समस्या समाधानका लागी पैरवी गर्दै उद्योग व्यवसायलाई पूर्ण क्षमता सञ्चालन गर्न सघाउने उद्देश्यले यो कार्यक्रम कार्यान्वयनमा ल्याइएको अध्यक्ष प्याकुरेलले बताए ।
संगठनले सञ्चालनमा ल्याएको बिजनेश क्लिनिकमा आन्तरिक र बाह्य गरि दुईवटा घटक रहेका छन् । आन्तरिक घटक अन्तरगत सम्बन्धीत उद्योग वा व्यवसायको आन्तरिक क्षमता जाँचपड्ताल डायग्नोसिस गर्न विजनेश हेल्थ चेकअपको सेवा उपलब्ध रहेको तथा बाह्य घटक अन्तरगत उद्योग व्यवसायका समस्याहरूको संकलन तथा पहिचानका लागी उद्योगहरूको भ्रमण गर्ने, समस्याको वर्गीकरण गर्ने, नीति विश्लेषण तथा अनुसन्धान गर्ने र समाधानका लागी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको फोकल बिन्दु मार्फत सहजीकरण गर्ने जस्ता विषयहरू समेटिएको संगठनका महानिर्देशक चुडामणी भट्टराईले जानकारी दिए ।
उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयमा भएको छलफलमा संगठनका अन्य कार्यक्रमहरू क्रमशः सीप विकास कार्यक्रम, स्टार्टअप तथा इनोभेशन कार्यक्रम, औद्योगिक अध्ययन केन्द्र, नीतिगत बहस पैरवी फ्रेमवर्क, मेरो देश मेरै उत्पादन लगायतका कार्यक्रमहरूका बारेमा समेत प्रस्तुतीकरण गरिएको थियो । कार्यक्रममा उद्योग मन्त्रालयका सचिव पोखरेलले संगठनले अघि सारेका सबै कार्यक्रमहरू सरकारको प्राथमिकता तथा मन्त्रालयको कार्यक्षेत्र भित्रै पर्ने भएकोले सहकार्य गरि काम गर्न तत्पर रहेको उल्लेख गरे ।
यसैगरी, संगठनले विजनेश क्लिनिकका सम्बन्धमा संघीय सरकारका अर्थ सचिव समक्ष गत असोज १५ गते बैठक गरि क्लिनिकको शुभारम्भ गरेको थियो भने क्रमशः प्रदेश र स्थानीय सरकारहरूसँग समेत आर्थिक तथा औद्योगिक विकासका महत्वपूर्ण आयामका रुपमा रहेका कार्यक्रमहरूको दिगो एवं सफलतापूर्वक कायान्वयन गर्न सहकार्य गर्दै क्लिनिक सञ्चालन गरिने संगठनले जनाएको छ ।
उद्योग मन्त्रालयको कार्यक्रममा सहसचिव, विभागीय प्रमुख तथा सम्बन्धीत शाखा प्रमुखहरूको सहभागिता रहेको थियो भने संगठनबाट बरिष्ठ उपाध्यक्ष प्रदिप मुरारका, उपाध्यक्षद्वय राजकुमार गोल्छा, नन्द किशोर राठी, कार्यसमिति सदस्य सुशिल रिजाल तथा अध्यक्षीय सल्लाहकार सोम अधिकारीको पनि सहभागिता रहेको थियो ।