काँग्रेस केन्द्रमा विराटनगरका को–को परे ?

विराटनगर । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको महिला खस आर्यबाहेकको अन्तिम परिणाम सार्वजनिक भएको छ । दश दिनभन्दा बढी समय लगाएर भएको मतगणनाको अन्तिम नतिजा सार्वजनिक हुँदा काँग्रेस केन्द्रमा सभापति शेरबहादुर देउवा अझै बलियो बनेका छन् ।

महाधिवेशनमा यसपटक विराटनगरबाट विभिन्न पदमा आकांक्षीको लर्को थियो । जसमध्ये ‘हेभिवेट’ नेताहरु पदाधिकारीमा चुनिन असफल बन्दा दोस्रो पुस्ताका नेताहरु भने लोकप्रिय मतसहित केन्द्रीय समितिमा चुनिएका छन् ।

विराटनगरका बासिन्दा रहेका तर काँग्रेस राजनीतिमा प्रभावशाली स्थान बनाएका अधिकांश नेताहरु यसपटक पदाधिकारीमा प्रतिष्पर्धामा थिए । त्यसक्रममा डा. शेखर कोइराला सभापतिमा शेरबहादुर देउवासँग पराजित भए । काँग्रेसमा नेतृत्व परिवर्तनको नारासहित सभापतिमा प्रतिष्पर्धा गरेका कोइरालाले भाई सशांक, बहिनी सुजाता, एकै समूहका प्रकाशमान सिंह र परिवर्तनकै मुद्दा बोकेको बताउने विमलेन्द्र निधिले नसघाउँदा पनि शक्तिशाली उपस्थिति जनाए ।

उपसभापतिमा महेश आचार्य स्वतन्त्र रुपमा र सुजाता कोइराला प्रकाशमान सिंह समूहबाट प्रतिष्पर्धामा थिए । उनीहरु दुवै चुनावमा विफल बन्दा महामन्त्रीमा डा. मिनेन्द्र रिजालले पराजय ब्यहोरे । रिजाल संस्थापन इतर समूहबाट उम्मेद्वार बनेर पराजित भएसँगै रक्षा मन्त्रीबाट राजीनामा दिए । सुनसरी र मोरङलाई आधार बनाएर काँग्रेस राजनीतिमा उदाएर लामो समय शक्तिमा रहेका र पछि मधेशवादी दल हुँदै फेरि काँग्रेसमै फर्किएका विजयकुमार गच्छदार पनि यसपटक उपसभापतिमा पराजित भए । उनी संस्थापन पक्षका तर्फबाट उम्मेद्वार थिए ।

सिनियर नेताहरुले पदाधिकारीमा असफलता ब्यहोर्दा डा. डिला संग्रौलाले खुला महिलातर्फ सबैभन्दा धेरै मत ल्याएर केन्द्रीय सदस्यमा जितिन् । संस्थापन पक्षका तर्फबाट प्रदेश कोटामा अमृत अर्याल र विराटनगर महानगरका प्रमुख भीम पराजुली खस आर्य कोटाबाट केन्द्रीय सदस्य चुनिएका छन् ।

काँग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइराला पनि प्रदेशतर्फबाट केन्द्रीय सदस्य बनेका छन् । सुनसरी काँग्रेसका निवर्तमान सभापति कोइराला र विराटनगर प्रमुख पराजुली पहिलोपटक काँग्रेस केन्द्रमा निर्वाचित बनेका हुन् । कोइराला डा. शेखर समूहबाट उम्मेद्वार बन्दा पराजुली देउवा–सिटौला क्याम्पबाट उम्मेद्वार थिए । संग्रौला र अर्याल यसअघि पनि काँग्रेस केन्द्रीय समितिमा थिए ।

प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की खुला केन्द्रीय सदस्यका प्रतिष्पर्धी थिए । उनी खुलातर्फको ३५ जनामा पर्न सकेनन् । यसैगरी विराटनगर महानगर उपप्रमुख इन्दिरा कार्की पनि केन्द्रीय सदस्यमा खस आर्य महिलातर्फकी उम्मेद्वार थिइन् । तर, मतगणनाका क्रममा उनी पछि परेकी छन् । यसको अन्तिम नतिजा आउन बाँकी नै छ ।

शुक्रबार, ०९ पुष, २०७८, दिउँसोको १२:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर