विराटनगर । विराटनगर महानगरको सडकपेटीमा जुत्ताचप्पल मर्मत गर्ने मोचीहरुले राज्यको सेवा सुबिधाबाट बंचित हुनुपरेको गुनासो गरेका छन् ।
शनिबार जनशक्ति तथा सामुदायिक विकास केन्द्र मोरङ र सामाजिक परिवर्तन केन्द्र काठमाण्डौले कोभिडले पारेको असर प्रभावको विषयमा आयोजना गरेको छलफलमा मोचीहरुले राज्यको सेवा सुबिधाबाट बंचित हुनुपरेको गुनासो गरेका हुन् ।
छलफलमा सहभागी मानव अधिकारकर्मी टे«ड युनियनका अगुवा र विराटनगर महानगरपालिका प्रतिनिधिसमक्ष मोचीहरुले कोरोना संक्रमणले गर्दा भएको लामो लकडाउनमा आफुहरु भोकभोकै बस्न बाध्य भएको सुनाए । ट्राफिक चौकमा ३८ वर्षदेखि जुत्ताचप्पल सिलाएर गुजारा चलाउँदै आएका मोची राधे रामले लकडाउनमा कयौं दिन एक छाक मात्र खाएर बाँचेको स्मरण गरे ।
मोची कुमुद रामले आफूहरुले विद्यालयमा छोराछोरीले पाउने छात्रबृत्ती बाहेक अरु कुनै सेवा सुबिधा नपाएको बताए । सडकपेटीमा जुत्ताचप्पल सिलाउँदा आफूहरुले बेला बेला सास्ती भोग्नुपरेकोले व्यवस्थित र सुरक्षित रुपले जुत्ताचप्पल सिलाउन पाउने व्यावस्था गरिदिनुपर्ने उनको भनाइ थियो ।
मोची विनोद रामका अनुसार विराटनगर महानगरपालिकामा झण्डै २ सयको संख्यामा सडकमाा जुत्ताचप्पल सिलाउने मोचीहरु छन् । २५ वर्षदेखि जुत्ताचप्पल सिलाउँदै आएका पिन्टु मोचीले जुत्ताचप्पल मर्मत गर्ने व्यवसाय स्तरोन्नती गर्न सरकारले मोचीहरुलाई अनुदान दिनुपर्ने माग गरे ।
नयाँ पुस्तालाई सरकारले जुत्ताचप्ल निर्माण गर्ने तालिम दिएर रोजगारी दिनुपर्नेमा उनीहरुको जोड थियो । जुत्ताचप्पल सिलाउने मोचीहरुका अगुवा राधे कामतका अनुसार विराटनगरका सडकमा जुत्ता चप्पल सिलाउने मोचीहरु अझै संगठित छैनन् । संगठित नहुँदा उनीहरु राज्यले प्रदान गर्ने सेवा सुबिधाहरुबारे कुनै जानकारी पनि पाउदैनन् ।
जुत्ताचप्पल सिलाएर घरपरिवार धान्दै छोराछोरी पढाएपनि अझैसम्म ९ कक्षाभन्दा बढि पढेको कोही पनि छैन । पुर्खौदेखी विराटनगरका सडकमा बसेर जुत्ताचप्पल सिलाउदै आएपनि अझै धेरै जना नागरिकताबाट बंचित छन् । उनीहरु दलित बालवालिकाले पाउने पोषण भत्ताबारे बेखबर छन् ।
मानव अधिकार रक्षक परिषदका अध्यक्ष सोमराज थापाले जुत्ताचप्पल मर्मत गर्ने मोची श्रमिकहरुलाई संगठित गर्न टे«ड युनियनकर्मीहरु लाग्नुपर्ने सुझाए । साथै मोचीहरुलाई अधिकार सम्पन्न बनाएर सेवा सुबिधा दिलाउननु राज्यका सबैतहका सरकारको प्राथमिकता हुनुपर्नेमा उनको जोड थियो ।
टे«ड युनियन महासंघ समन्वय केन्द्र प्रदेश १ का अध्यक्ष टिका प्रसाँईले सडकमा बसेर जुत्ता मर्मत गर्ने सर्वहाराहरुलाई तथ्यांक र अवस्था संकलन गरेर पंजिकरण गरि सेवा सुबिधा दिलाउन महानगरपालिलाई आग्रह गरे । विराटनगर महानगरपालिका समाजिक महाशाखा प्रमख पुनम दाहालले सडकपेटीमा सुरक्षित हिँड्न पाउने अधिकार सुनिश्चित गराउँदा जुत्ताचप्पल मर्मत गर्ने मोचीहरुको पेशा धरापमा परेकोले व्यवस्थित गराउन महानगरपालिकाले योजना बनाउने बताए ।
अखिल नेपाल टे«ड युनियन महासंघका उपाध्यक्ष उपेन्द्र रायले अनौपचारिक क्षेत्रका मजदुरहरुलाई संगठित गराउँदै हक अधिकार दिलाउन आफूहरु लागिरहेको बताए । जनशक्ति बिकास केन्द्र तथा सामुदायिक विकास केन्द्र मोरङका अध्यक्ष डिक घिमिरेले कोभिड महामारी र बिपदहरुमा सबै भन्दा बढि मारमा पर्ने मोचीहरु जस्तै अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरु हुने भएकोले उनीहरुको पक्षमा आफूहरुले आवाज उठाउन थालेको जानकारी गराए ।