कर्सिया सिटिजन्स बैंक लुटपाट प्रकरण : ऋणमुक्त हुन बैंक लुट्ने योजना !

विराटनगर । गएको असोज २५ गते मोरङको कर्सियास्थित सिटिजन्स बैंक लुट्ने गिरोह पुर्पक्षका लागि जेल चलान भएपछि त्यसबारे केही तथ्यहरु पनि खुलेको छ ।

प्रहरी अनुसन्धानका अनुसार लुटेराले बैंकको ऋण र बढ्दो ब्याज तिर्न बैंक लुट्ने योजना बनाएको खुलेको छ । विराटनगरको मेनरोडस्थित एउटा गार्मेन्ट लुटेर हौसिएको समूहले बैंक लुटेको पाइएको हो ।

विराटनगरको व्यस्त बजार, त्यो पनि प्रहरीको २४ घण्टा सुरक्षा रहने ठाउँदेखि कपडा पसल सहज रुपमा लुटेपछि उनीहरूको योजना बन्यो कर्सियाको सिटिजन्स बैंक लुट्ने । ‘विराटनगरको व्यस्त मेनरोड बजारमा रहेको गार्मेन्ट पसल । त्यो पनि वडा प्रहरी कार्यालय अगाडिबाट दिनदहाडै पसल लुटपाट गर्ने योजना सफल भएपछि हौसिएर बैंक लुट्ने योजना बनाएको बयानको क्रममा लुटेराले भनेका छन् ।

व्यवसाय घाटामा जान थालेपछि विकल्पको खोजी गर्दै हिंडेका विराटनगरका श्याम मुखिया भारतको बिहारस्थित आफ्नो मावली पुगेका थिए । बैंकबाट लिएको १० लाखको ऋण र त्यसको ब्याजबाट छुटकारा पाउन उनले त्यहीँ बसेर लुटपाटको योजना बनाएका थिए । भारतमै पेसेवर अपराधीहरुको संगत गरेर मुखियाले आवश्यक हातहतियारसहित लुटपाटको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

मुखियाले प्रहरीलाई दिएको बयान अनुसार लुटको १५ दिनअगावै भारतीय अपराधीहरु नेपाल आएर लुटको लागि उपयुक्त ठाउँ हेरेर फर्केका थिए । ‘विराटनगर मेनरोडस्थित कोटेक्स ट्रेडिङको पसलबाट १२ हजार नगद र ४ वटा स्मार्टफोन लुटेर लगेपछि बैंक लुट्ने योजना बनाएका थियौं । पसलमा अनुमान गरे बमोजिमको पैसा नभेपछि बैंक लुट्ने योजना बनेको हो’, मुखियाले प्रहरी बयानमा भनेका छन् । गार्मेन्ट पसल लुटपाटको क्रममा गल्लामा थोरै नगद देखेपछि आक्रोशित बनेका हतियारधारी समूहले पेस्तोलको पछाडि पट्टिको भागले पसलका सञ्चालक मनोज तोदीको टाउकोमा समेत प्रहार गरेका थिए ।

बैंक लुटपाटअघि मुखियासहितको सो समूह मोरङ धनपालथानसँगै जोडिएको जहदा गाउँपालिकाको एक कृषि फर्ममा बस्दै आइरहेका थिए । मुखिया लागूऔषध कारोबारी पनि हुन् । प्रहरीले उनीहरू बस्ने डेराबाट लागूऔषध पनि बरामद गरेको छ । प्रहरीका अनुसार यो समूहको एक जना वर्षदिन अघिदेखि नै सो फर्ममा कार्यरत थिए । अररिया गोराहा–४ का ३० वर्षीय विजय सहनी एक वर्षदेखि फर्ममा कार्यरत रहेको प्रहरी अनुसन्धानले देखाएको छ । सहनी भने भारतबाट हत्या आरोपमा फरार भएका अभियुक्त पनि हुन् । उनीमाथि सामान्य झगडा हुँदा भारतमा आफ्नै छिमेकी शिवशंकर सहनीको गोली हानेर हत्या गरेको आरोप छ ।

मोरङको धनपालथान गाउँपालिका– ४ कर्सियास्थित सिटीजन्स बैंकबाट २४ लाख ८४ हजार रुपैयाँ लुटपाट गर्ने गिरोहका मुख्य नाइकेसहित चार जना जेल चलान भएका छन् । मोरङ जिल्ला अदालतका न्यायाधीश सुदर्शन लम्सालको इजलासले बैंक लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका चार जनालाई पुर्पक्षको लागि जेल चलान गरेको हो । आइतबार भएको थुनछेक बहसपछिको आदेशले विराटनगर ८ का श्याम मुखिया, भारतको अररिया जिल्लाको थाना बरगाना पञ्चायत शेखपुराका सुनिल यादव, सोही ठाउँका विजय बहरदार र रोशनकुमार यादवलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको मोरङ अदालतका श्रेस्तेदार टिकेन्द्रवीरजङ्ग राणाले जानकारी दिए ।

पक्राउ परेकामध्ये मुखिया बैंक लुटपाटको मुख्य नाइके रहेको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको थियो । उनको योजना अनुसार बैंक लुटपाट भएको थियो । मुखियाले भारतबाट लुटपाट गर्ने समूहलाई हतियारसहित ल्याएर दिनदहाडै बैंक लुटपाट गरेका गरेका थिए । असोज २५ गते कर्सियाको सिटीजन्स बैंकबाट २४ लाख ८४ हजार रुपैयाँ लुटपाट गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो । घटनामा संलग्न ११ जना भए पनि आठ जना आएर लुटपाट गरेको प्रहरीले जनाएको छ । लुटेर लगेको रकम भने फेला पारेको छैन ।

यसैगरी विराटनगरको मेनरोडस्थित गार्मेन्ट पसल लुटपाटमा पनि यही समूह संलग्न रहेको खुलेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए । प्रहरीले झण्डै दुई साता लगाएर गरेको अनुसन्धानपछि २२ असोजमा विराटनगरको मेनरोडमा रहेको गार्मेन्ट पसल र २५ असोजमा कर्सियाको बैंक लुट्ने समूह एउटै रहेको खुलेको हो ।

मंसिर २८, २०७८, रातीको ०८:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर