विराटनगर । प्रेस जगतको आधारभूत एजेण्डा अझै पनि एकै रहेको बताउँदै पत्रकारका संघ–संस्थाका अगुवाहरुले साझा मुद्दासहित हातेमालो गर्न आह्वान गरेका छन् ।
विराटनगरमा आयोजित प्रेस सेन्टर नेपाल प्रदेश १ को दोस्रो अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनीहरुले लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको रक्षार्थ पत्रकारिता जगत एकताबद्ध रुपमा लाग्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि एवम् प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष महेश्वर दाहालले मुलुकको समृद्धि तथा लोकतन्त्रको रक्षाका लागि प्रेस जगतले अझै सशक्त बन्नुपर्ने आवश्यकता औंल्याए ।
माओवादी केन्द्रका प्रदेश १ सचिव हेमराज भण्डारीले भ्रष्टाचार र सुशासन पहिलो एजेण्डा बनाउन आग्रह गरे । उनले देशमा ओली नेतृत्वको सरकारले गरेका अरबौंका भ्रष्टाचारजन्य निर्णयहरुको पर्दाफास गर्न पत्रकारहरुले कलम चलाउनु पर्ने बताए । यसका साथै हाल स्थानीय तहमा र सरकारमा देखिएको भ्रष्टाचार र कुशासनको भण्डाफोर गर्न पनि उनले आग्रह गरे ।

प्रेस सेन्टरका पूर्व महासचिव विष्णु सापकोटा जुगल, पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता बराईली, महासंघ प्रदेश १ का अध्यक्ष लीलाबल्लभ घिमिरे, पूर्व अध्यक्ष विक्रम लुईटेल, समाजवादी प्रेस संगठनका प्रदेश इन्चार्ज तीर्थ सिग्देल फोनिजका अर्जुन जम्नेली लगायतका वक्ताहरुले पत्रकारिता क्षेत्रका चुनौती र अबको दायित्वबारे चर्चा गरेका थिए ।
अधिवेशनको बन्दसत्रले ४७ सदस्यीय प्रदेश कार्यसमिति सर्वसम्मत चयन गरेको छ । सोही समितिले अब प्रदेशका पदाधिकारी, लेखा आयोग लगायत आयोगहरु पनि चयन गर्नेछ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।