कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकामा स्थापित कानेपोखरी साहित्य समाजले आयोजना गरेको अन्तर मावि स्तरीय कविता वाचन प्रतियोगितामा शिक्षा सदन मावि हरकपुरमा अध्ययनरत करुणा कोइराला प्रथम भएकी छिन् ।
दोश्रो स्थानको पुरस्कार रमाइलो बहुमुखी क्याम्पस भौसाबारी ५ मा अध्ययनरत जुना पाण्डेले हात पार्दा तेश्रो स्थानको पुरस्कार वडा नं. ६ मा रहेको माउन्ट हर्मोन चिल्ड्रेन ऐकेडेमीको तर्फबाट प्रतियोगी सुम्निमा न्यौपानेले जितिन । सान्त्वना पुरस्कार भने कानेपोखरी २ को शिक्षा विकास माविकी छात्रा सिर्जना कार्कीले पाइन् ।
प्रथम, द्धितिय, तृतीय र चौथो हुनेलाई वडा नं. ६ का अध्यक्ष खड्ग बस्नेत, समाजका अध्यक्ष दुर्गाबहादुर कार्की, संस्थापक विबेक लिम्बू लगायतले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए । उनीहरूलाई पुरस्कार स्वरुप आयोजकको तर्फबाट साहित्यीक किताव, नेपाली शब्दकोष र प्रमाणपत्र प्रदान गरिएको थियो । कानेपोखरी गाउँपालिका भित्रका श्री मावि, जनकल्याण मावि, शिक्षा विकास माविलगायत ८ माध्यमिक विद्यालयहरूबाट १६ जना प्रतियोगीहरूले सहभागीता जनाएका थिए ।
निर्णायक मण्डलमा पत्रकार एवं साहित्यप्रेमी भोला भट्टराई, कवि एवं शिक्षक अम्बिकाप्रसाद कोइराला र कवियत्री एवं रमाइलो बहुमुखी क्याम्पसकी साहित्य विषय शिक्षिका बिनिता आचार्य रहेका थिए ।
कार्यक्रमको प्रमुख अतिथीको रुपमा बोल्दैँ कानेपोखरी गाउँपालिकाका अध्यक्ष तारा बहादुर काफ्लेले कानेपोखरी साहित्य समाज गाउँपालिका भरिका साहित्यीक श्रष्टाहरुको प्रतिभा उजागर गर्ने एउटा साझा मञ्च भएकाले यसको दिगो बिकासका लागि आफ्नो तर्फ र पालिकाबाट सक्दो सहयोग गर्ने बताए ।
कानेपोखरी साहित्य समाजका अध्यक्ष दुर्गा बहादुर कार्कीले अध्यक्षता गरेको कार्यक्रममा स्थानिय साहित्यप्रेमी, विभिन्न राजनैतिक दलका स्थानीय प्रतिनिधी, विद्यालयबाट शिक्षक,शिक्षिका तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा गजलकार सन्जना घिमिरे, स्थानीय कवि भवप्रसाद बाँस्तोला, स्थानीय कवियत्री इनोसेन्ट दुर्गा(दुर्गा परियार), आर्दश स्कुलका शिक्षक प्रकाश रिजाल, साहित्यकार डिबि संसार, कवि प्रतीक ओझालगायतले साहित्यीक सिर्जना प्रस्तुत गरेका थिए ।