डडेल्धुरा । पालिकाको अधिवेशन एकलौटी रूपमा गरिएको, सदस्यता वितरण आफूखुसी गरिएको र ०७५ जेठ २ कार्यान्वयन नभएको भन्दै डडेलधुराको सिंगो एमाले समाजवादीमा प्रवेश गरेको छ ।
एमालेका जिल्ला अध्यक्ष तारा जोशीको नेतृत्वमा माधव नेपाल नेतृत्वको समाजवादी पार्टीमा उनीहरु प्रवेश गरेका हुन् । जोशीसँगै जेठ २ अघिका जिल्ला कमिटीमा रहेका ४० जना एकीकृत समाजवादी रोजेका छन्। १६ जनवर्गीय संगठनमध्ये १३ संगठनले एमाले परित्याग गरेका छन्।
‘पार्टी विभाजन भइसकेपछि पुरानो पार्टीलाई सुधार गर्न सकिन्छ कि भन्ने चाहना थियो। त्यही अनुसार सुधारको लागि आएको हो। बार्गेनिङ गरेर, मान्छेलाई प्रभावित गरेर भन्दा पनि प्रजातान्त्रिक अभ्यास गर्ने ठाउँ कार्यकर्तालाई छ कि छैन भन्ने महत्वपूर्ण हो,’ उनले भने, ‘केपीजीबाट तलसम्म डेमोक्रेटिक स्पेसलाई खुम्च्याएको मात्रै होइन कि यसको लागि ठाउँ समेत बाँकी नराख्ने काम भयो। विधि,पद्धति र लोकतन्त्रको कुरा गर्ने संविधानवादको कुरा गर्ने साथीहरूलाई कुनै स्पेस रहेन।’
निरंकुश र फासीवाद शैलीमा उभिएको पार्टीलाई लोकतान्त्रिक बनाउन सकिन्छ कि भनेर गरिएको प्रयास असफल भएको जोशीले बताए। एमाले रूपान्तरणको ठाउँ नरहेकोले यसको संकुचन देश र समाजका लागि जरूरी रहेको उनको तर्क छ।

