विराटनगर । एकै परिवारका चार जनाले बोक्सीको आरोप लगाउँदै विराटनगरकी एक महिलालाई कुटपिट गरेको आरोप लागेको छ । पीडित महिलाले आफूलाई कुटपिट गर्नुको साथै निर्वस्त्र पारि सामाजिक इज्जतलाई समेत ख्याल नगरी चरित्र हत्या गरेको बताएकी छिन् ।
उनले आज विराटनगरमा पत्रकार सम्मेलन गरी सो विषयमा हुलाकमार्फत दिएको उजुरी प्रहरीले लिन नमानेको समेत दाबी गरिन् ।
‘विराटनगर ८ बस्ने म निवेदीका वर्ष ३५ को हविबुल मियाँ समेत ४ जना परपुरुषले मिति २०७८/०६/१९ गतेका दिन बिहान ७ः०० बजेको समयमा मेरो घर आँगनमा आई तिमी बोक्सी डायन हो भन्दै अपशब्द गाली गलौज गरी मलाई कुटपीटसमेत गरी यो बोक्सी डायनलाई ज्यान मार्नुछर्प भन्दै मेरो जीउको लुगासमेत च्याती मलाई निर्वस्त्र पारी मेरो सामाजिक इज्जत मर्यादालाई कुल्चेर बोक्सी भन्दै मेरो चरित्र हत्या गरेकाले सो कसुर अपराधका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङमा मिति २०७८/७/५ गतेका दिन जाहेरी दिँदा जाहेरी दर्ता गर्न नमानेको हुँदा हुलाकबाट जाहेरी पठाउँदा समेत विपक्षी अन्यायीहरुलाई कुनै कारबाही नगरेको हुँदा साह्रै नै अन्यायमा पर्न गएकोले म पीडितको आवाज पुर्याई दिनुहुनका लागि तथा न्याय पाउन सहज होस भनि पत्रकार सम्मेलन गराई पाउन सादर निवेदन गर्दछु,’ पीडितले बाँडेको प्रेस नोटमा उल्लेख छ ।
विराटनगर ८ का ३५ वर्षीय मुस्तकिम मियाँ, ३० वर्षीय सगिर मियाँ, २८ वर्षीय कविर मियाँ र ५५ वर्षीय विबुल मियाँले बोक्सी आरोपमा कुटपिट गरेको ती महिलाको भनाइ छ । यसरी परिवार मिलेर कुटपिट गर्दा पनि चार जनालाई प्रतिवादी बनाएर पिडक विरुद्ध मोरङ प्रहरीमा किटानी जाहेरी दिदा पनि हालसम्म कुनै कारवाहीको प्रक्रिया अगाडी नबढेको ती महिलाले गुनासो गरेकी छिन् । गत असोज १९ गते बिहान ७ बजे महिलामाथि कुटपिट भएको पीडितको भनाइ छ । घटना भएको १५ दिनपछि कार्तिक ५ गते मोरङ प्रहरीमा पीडित महिलाले हुलाकमार्फत जाहेरी पठाएकी थिइन् ।
पाँच दिनअगाडि पठाएको जाहेरी जिल्ला प्रहरी कार्यालयमा पुगेको मोरङ प्रहरीका डिएसपी एवं प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिए । तर, हुलाकबाट जाहेरी गरेपनि पीडित सनाखतका लागि नगएका कारण कारवाही प्रक्रिया बढाउन नसकेको प्रवक्ता श्रेष्ठले बताए । ‘हुलाकमार्फत जाहेरी आएपछि घटनाक्रम बुझनको लागि हामीले पीडितलाई प्रहरी कार्यालयमा बोलाएका थियौं । एक पटक आएपछि पीडितको घाउ चेकजाँच पनि कोशी अस्पतालमा गरिएको थियो । त्यसपछि उहाँ सम्पर्कमा आउनुभएको छैन,’ डिएसपी श्रेष्ठले भने, ‘प्रहरी कार्यालयमा पीडितको जाहेरी दर्ता गर्दिन भन्ने कुरा नै हुँदैन ।’ हुलाकबाट जाहेरी पठाएर अहिले विभिन्न बहाना बनाउने गरेका छन् । जाहेरी सनाखत गरेपछि मात्रै थप प्रक्रियामा अगाडि बढाउन सकिने प्रहरीले जनाएको छ ।
पीडितले भने पहुँचवाला पीडक भएका कारण प्रहरीले पक्राउ गरेर अनुसन्धानको प्रक्रियामा लैजान आनाकानी गर्दै आएको आरोप लगाएकी छिन् ।

