ओलीले कार्यकर्ता माझ भने, ‘हाम्रा नियुक्ति बदर गराउने तमासा त होइन ? (भिडियो)

विराटनगर । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले संवैधानिक अंगहरुमा गरेका नियुक्तिहरु बदर गर्न ‘अहिले अदालतमा झमेला भइरहेको’ आशंका गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासँगको मिलेमतोमा संवैधानिक अंगहरुमा प्रधानमन्त्री हुँदा ओलीले भागबण्डा गरेको आरोप लाग्दै आएको छ । त्यसको संकेत प्रष्ट रुपमा गर्दै ओलीले विराटनगरमा कार्यकर्ता माझ त्यो भेद खोलेका छन् ।

पछिल्लो समय ओलीका विश्वासपात्र बनेका सांसद एवम् उद्योगी मोती दुगढको विराटनगरस्थित होटल ह्यारिसनमा सोमबार राति अबेरसम्म कार्यकर्तालाई सम्बोधन गरेका थिए ।

सुवास नेम्बाङ, शंकर पोखरेलसहितका नेताहरु पनि सहभागी सो कार्यक्रममा पत्रकारलाई प्रवेश निषेध गरिएको थियो । तर, भेलामा सहभागी केही कार्यकर्ताले ओलीको सम्बोधनको भिडियो बनाएको पाइएको छ । भिडिओमा ओलीले एमालेले नियुक्त गरेका संवैधानिक नियुक्ति बदर गर्न यो झमेला भएको बताएका हुन् । ओलीले त्यसक्रममा चार जना मिलेर एक जनालाई काम गर्न नदिइएको समेत बताएका छन् ।

‘अहिलेको यो झमेला के पनि हो भने हामीले नियुक्ति गरेका, हाम्रो सिफारिशमा नियुक्त भएका, संवैधानिक परिषदले सिफारिश गरेर क्याबिनेटले नियुक्त गरेका, निर्णयहरु, बदर गराउनका लागि यो तमासा भइरहेको त छैन ?’, ओलीले भनेका छन्, ‘अहिले बजारमा देखिएको छ नि यो, ती संवैधानिक नियुक्ति बदर गरेर आफ्ना बुख्याँचा खडा गर्ने उदेश्यले यो तमासा त भइरहेको छैन ? यसको लिंक खोज्नुपर्ने अवस्था भएको छ । हामीले त अदालतको फैसला मानिराखेका छौं । तर, मान्नै नसक्ने अवस्थामा त अदालतका श्रीमानहरु पुग्नुभयो नि ! ।’

मङ्गलबार, ०९ कार्तिक, २०७८, साँझको ०६:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर