प्रदेश १ : प्रदेशसभा बैठक कार्तिक १५ गतेसम्मका लागि स्थगित

विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक आगामि १५ गतेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारूढ दल नेकपा एमालेले आजको प्रदेशसभा बैठक रोक्न माग गर्दै संसद सचिवालयमा यसअघि निवेदन दिएका थिए ।

आजको बैठकमा मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिने प्रस्तावमा छलफल र मतविभाजन गर्ने कार्यसूची थियो ।

कांग्रेसले संसद बैठक स्थगित गर्न माग गरेलगत्तै सत्तारूढ दल एमालेले पनि कार्तिक १५ गतेमात्रै बैठक राख्न माग गर्दै अर्को निवेदन दिएको थियो ।

सोही निवेदनका आधारमा बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयले दिउँसो जारी सूचनामा मिति २०७८/०७/०७ का लागि निर्धारण गरिएको कार्यसूची बमोजिम नै हुने गरी कार्तिक १५ गते सोमबार दिनको १२ः३० बजे बैठक बस्ने उल्लेख गरिएको छ ।

कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाको प्रदेश १ को भ्रमण परेकोले आजको बैठक स्थगित गर्न माग गरेको हो भने एमालेले कांग्रेसले बैठक स्थगित गर्न माग गरेको र अब १५ गते अगाडि पार्टीको कार्यक्रमहरूले गर्दा त्यतिन्जेल सम्मकालागि बैठक रोक्न माग गर्दै निवेदन दर्ता गरेको हो ।

आइतबार, ०७ कार्तिक, २०७८, दिउँसोको ०४:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर